Logo
Logo

जबज र विसर्जनवाद ?


- लक्ष्मण देवकोटा

0
Shares

  • लक्ष्मण देवकोटा

मुलुकमा केपी शर्मा ओलीको रजगज छ । कम्युनिष्ट पार्टीको आदेश, विधि र विधानलाई अवज्ञा गर्ने हठी ओली सबैतिर अल्पमतमा भएपनि सहकर्मी सबैलाई कोर्रा लगाउन सफल भएका छन् । पाँच वर्ष उनले अब निर्धक्क शासन गर्नेछन् ।

राम्रा नराम्रा सबै कदममा जयजयगान नगर्नेहरुको हविगत के हुन्छ भन्ने कुरा त पटक पटक उनले लिएका कदमबाटै बुझ्न सकिन्छ । अदालत नहुँदो हो त प्रेसलाई समेत उनले कोर्रा लगाइसकेका हुनेथिए । हजारौँ कम्युनिष्ट कार्यकर्ता, नेता, संगठक सबैको आशामाथि भयँकर निराशाको बम बारुद गर्दै ओलीले सरकारको रथ अगाडि बढिरहेका छन् ।

ओलीको यो हठयात्रा ठीक भएन भनेर पार्टीभित्र विधि र पद्धतिका नारा लगाउनेहरु पनि दुई चार थान मन्त्री र कमाइ हुने दुई चार गौँडामा नियुक्ति पाएपछि सामसुम हुने अवस्थामा पुगेको देखियो । यो जनवादी व्यवस्थाको गफ गर्ने तर, दलाल पूँजीपतिहरुको संरक्षण गर्ने केही थान कम्युनिष्ट नामधारीहरुको बीचमा झनै खतराको सूचक बनेर आउने देखियो ।

सत्ताको ताबेदारीमा मुलुकको ठूलो समूह सामेल छ । प्रेस, बुद्धिजीवी, प्राज्ञिक, विचारक सबका सब पदको आशक्ति र लालचका कारण सत्ताधारीहरुको जयगान गर्नमा मग्न देखिएका छन्। हुँदा हुँदा प्रधानमन्त्रीय पद्धतिमा दलको खासै हस्तक्षेपकारी भूमिका हुँदैन, सबै कुरा संसदीय दल र सरकारको हो भनेर दिनहुँ दलिल पेश गर्न व्यस्त छन् उनीहरु । प्रधानमन्त्री ओलीको स्तुतिगान जसले अब्बल हिसाबले गाउन सक्यो, उही नियुक्तिका निम्ति योग्य हुने नयाँ मापदण्ड सरकारले निर्माण मात्र होइन, संस्थागत पनि गरिरहेछ । चलिए यही डुँगा ठिक, नचलिए बहुदलीय जनवादरुपी नेकपा एमालेको सूर्यछाप धारी अर्को नयाँ डुँगा ठिकको जुवाडे शैलीमा ओलीमण्डली हिँडिरहेकोछ ।

ओलीको यो हठयात्रा ठीक भएन भनेर पार्टीभित्र विधि र पद्धतिका नारा लगाउनेहरु पनि दुई चार थान मन्त्री र कमाइ हुने दुई चार गौँडामा नियुक्ति पाएपछि सामसुम हुने अवस्थामा पुगेको देखियो । यो जनवादी व्यवस्थाको गफ गर्ने तर, दलाल पूँजीपतिहरुको संरक्षण गर्ने केही थान कम्युनिष्ट नामधारीहरुको बीचमा झनै खतराको सूचक बनेर आउने देखियो ।

नेपाल मात्र होइन संसार नै अहिले कोरोना महामारीको विरुद्ध लडिरहेकोछ । विज्ञान, वैश्य र विश्वलाई नै हल्लाइरहेको यो भाइरसका विरुद्ध सारा विश्व हायलकायल भइरहँदा नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । मानिसहरुले रातारात यो सरकारबाट ठूलो क्रान्तिकारी कदमको अपेक्षा पनि गरेका छैनन् । खाडीमा अलपत्र परेका नेपालीहरुको उद्धार सरकारले गरोस्, चुल्होमा राशन सकिएका गरिब परिवारहरु र संक्रमणका बेला कम्तीमा जीवन बाँच्ने उपायसम्मको स्वास्थ्य सेवाको अपेक्षा नेपालीहरुले गरेका छन् ।

यी अपेक्षागर्ने नेपालीहरु तिनै हुन् जो ढाई वर्ष अघि लाममा लागेर यही सरकारलाई भोट हालेका थिए । अस्पतालको दैलो चाहार्दा चाहार्दै वडाध्यक्षले प्राण त्याग गरेपछि त्यो वडाका अरु सामान्य मानिसहरुको मनमा के लाग्यो होला ? वीरगन्जका एकजना व्यापारी नेता आफूलाई कोरोना लागेको थाहा पाउने बित्तिकै काठमाण्डूको सुबिधा सम्पन्न अस्पतालमा हेलिकोप्टर लिएर आए र ज्यान जोगाएर फर्किए । अरु वीरगँज निवासी अरु सामान्य जनहरुका मनमा कस्तो प्रतिकृया आयो होला ? कहिलेकाही यस्ता भावनात्मक कुराहरुले सत्यको फेरो समाउँदा मनै कसो कसो भएर आउँछ ।

समाजमा धनी र गरिबको खाडल छ, त्यही खाडल पुर्छु भनेर चुनाव जितेर आएको दलका नेता, सांसद, अगुवाहरु जब केबल आफू, आफ्ना र आफन्तको फेरोमा रुमलिन पुग्छन्, त्यतिमात्र होइन न्यूनतम सेवा सुबिधामा समेत भ्रष्टाचार गर्न पुग्दछन् भने उनीहरुलाई जिताउने र भोट हाल्ने जनताका मनमा कस्तो प्रतिकृया आएको होला ? अब पनि यिनै मेरा जीवनका भाग्यविधाता र सर्वहाराका अगुवा हुन् भनेर उनीहरुले मानेर विश्वास गरिरहनुपर्ने कारण के रह्यो र ?

कोरोनाको संक्रमण विस्तारै सामुदायिक स्तरमा फैलिँदैछ । सीमित स्वास्थ्यकर्मीको मिहिनेतलाई सलाम गर्दै सरकारका तयारीहरुका बारेमा छलफल गर्नुको यसबखत कुनै अर्थ छैन । सत्ताधारी दलकै नेताहरु कोरोनामुक्त जिल्ला भनेर घोषणा गर्दै हिँड्ने मुर्खतापूर्ण काममा लागेको समेत देखियो । जिल्लाको कुरा गर्दा । केन्द्रको कुरा गर्दा विदेशमा अलपत्र नेपालीहरुलाई बेवास्ता गर्दै सधै आर्थिक विवादमा आइरहने सरकारका मन्त्रीका विरुद्ध सेनाले समेत उजुरी गर्नुपर्ने, सहकर्मी मन्त्रीले समेत प्रधानमन्त्रीकै सामुन्ने चिच्याउनुपर्ने अवस्था समेत देखियो । तर, प्रधानमन्त्री ओलीका दाहिना भएपछि सबै कुरा माफ हुने नै भयो । त्यही भइरहेको छ मुलुकमा ।

यहाँनेर सबैभन्दा बदनाम यिनै सत्ताधारी मानिसहरुले जननेता मदन भण्डारीको गरिरहेका छन् । मदन भण्डारीले संसदीय अभ्यास पनि जनवादी संघर्षको एक मोर्चा हो भनेका थिए । पूर्वी युरोप र सोभियत संघमा कम्युनिष्ट शासन सत्ताहरु एकपछि अर्को गर्दै ढल्दै गइरहेको बेला नेपालमा भने मदन भण्डारीले शान्तिपूर्ण संघर्षबाटै संसदको उपयोग गर्दै राज्यसत्ता कायम गर्न सकिन्छ भनेर जबजको व्याख्या गरेका थिए । त्यही जबजलाई टेकेर आज देशमा दुईतिहाइको नेकपाको सरकार छ । शान्तिपूर्ण तरिकाबाटै समाजवादको लक्ष्य हासिल गर्ने अवसर नेकपामार्फत नेपाली जनतालाई आएको छ । तर, जबजलाई र संसदीय राजनीतिलाई सँगै जोड्न खोज्नेहरुले जबजलाई संसदीय राजनीतिमा चुर्लुम्म डुबाउन खोजेका छन् । जुन विसर्जनवादको आरम्भ हो ।

पूर्वी युरोप र सोभियत संघमा कम्युनिष्ट शासन सत्ताहरु एकपछि अर्को गर्दै ढल्दै गइरहेको बेला नेपालमा भने मदन भण्डारीले शान्तिपूर्ण संघर्षबाटै संसदको उपयोग गर्दै राज्यसत्ता कायम गर्न सकिन्छ भनेर जबजको व्याख्या गरेका थिए । त्यही जबजलाई टेकेर आज देशमा दुईतिहाइको नेकपाको सरकार छ । शान्तिपूर्ण तरिकाबाटै समाजवादको लक्ष्य हासिल गर्ने अवसर नेकपामार्फत नेपाली जनतालाई आएको छ । तर, जबजलाई र संसदीय राजनीतिलाई सँगै जोड्न खोज्नेहरुले जबजलाई संसदीय राजनीतिमा चुर्लुम्म डुबाउन खोजेका छन् । जुन विसर्जनवादको आरम्भ हो ।

यही सोच र शैलीले जनताको सपना पूरा गर्न सकिन्न । पार्टीको सामान्य सदस्य देखि केन्द्रको नेतासम्म कहाँबाट चार पैसा कमाइ हुन्छ ? कहाँ आफ्ना मान्छेलाई फिट गर्न सकिन्छ ? कुन चाहिँ ठेक्का बाट कति कमाउन सकिन्छ भनेर हिँड्न थालेपछि कसरी ‘जबज’ को माध्यमबाट मुलुकलाई समृद्धि बनाउन सकिन्छ ? पार्टीका माथिल्लो तहका नेताहरुको संस्थागत भ्रष्टाचारमा संलग्नता जति पनि छुट, अनि तलका मानिसहरुलाई सबै ऐन कानून भएपछि कसरी हुन सक्दछ बराबरीको समाज ? नेपालका कम्युनिष्टहरुलाई भरोसा र विश्वास गरेर भोट दिएका जनताहरुको सबै सपनामा पानी खन्याउन उद्यत छ यो सरकार । यो जनताप्रतिको ठूलो धोका हो । यसरी धोका दिनु र सत्ताको सौन्दर्यमा नीति सिद्धान्तलाई बिर्सनुलाई नै शायद संसदीय भास भनिएको होला ।

नेपाल राज्यका कम्युनिष्टहरु यसबखत बडो नराम्रोसँग त्यही भासमा जाकिँदै गइरहेकाछन् । हिज दलित, गरिब र निमुखाको सहारा थिए कम्युनिष्टहरु, आज तिनै कम्युनिष्टहरु गरिब मारा भएर निस्कन थाले । हिजो सुकुम्बासी बस्तीमा कम्युनिष्ट नेताहरु संगठित गर्न जान्थे, फाटेका चप्पल लगाएर, आज तिनै नेताहरु सुकुम्बासी बस्तीमा राँको बोकेर पस्दैछन । के छैन गजब छ मुलुकमा, माथिकाले हवाइजहाजको उडानमा सेटिङ मिलाएर खाइरहेका छन्, तलका कोरोना पास सेटिङमा । मानिसहरु निरन्तरको तनाव र अत्याहटले दैनन्दिनी रुपमा आत्महत्या गर्न विवश छन् ।

जबज र संसदीय भासको यो दुर्दान्त तस्विरमा नारायणीमा बग्दै गरेको पुरुषको टुप्पीको पो याद आइरहेको छ यो लेखकलाई । छालमा टुप्पी मात्रै देखिन्छ, पूरा ज्यान नदीभित्र डुबिसकेको छ । तै बल गरेर टुप्पी समातेर तान्न सकियो भने प्राण ब्यूँतिन सकिन्छ कि भन्ने आशाको त्यान्द्रो जबजको बाँकी छ ।

कम्युनिष्ट पार्टीको शिखरमा चलिरहेको यो झगडा बेलाबखत भिन्न भिन्न रुपमा प्रकट भइरहेकोछ । कुनै पनि विचारलाई एकांकी र जडसुत्रीय रुपमा बुझिरहनु माक्र्सवादलाई नबुझ्नु हो भनेर स्वयम् मदन भण्डारीले नै भनेका थिए, अब मदन भण्डारीको विचार पनि जस्ताको तस्तै रुपमा फेरि उपयोग हुनुपर्छ भन्नु पनि मदन भण्डारीको विचारको विरुद्ध हुने होला । हुन त, कमाउको धन्दामा ठूलो जुलुस, पार्टी पँक्ति लागिरहेका बेला यी कुरा असान्दर्भिक होलान् । तर यो भासमा टुप्पी मात्रै देखाएर बाँचिरहेको नेपाली माक्र्सवादको यो दारुण दृष्य भने इतिहासमा धेरैबेर रहिरहँदैन । परिवर्तन त समयको खाँचो नै हो जो अवश्यम्भावी छ । विचार, विज्ञान पनि त्यसको अछुतो कसरी रहनसक्ला र ?

प्रतिक्रिया दिनुहोस्