काठमाडौं, ९ भदौ । चितवनमा माडी क्षेत्रमा सेनाबाट चेपाङ समुदायमाथि सेनाद्वारा अत्याचार हुँदै आएको छ । गत महिना सेनाकै यातनाबाट राजकुमार चेपाङले ज्यान गुमाए । मानवअधिकार तथा शान्ति समाजले गरेको एक अध्ययन-अनुगमन प्रतिवेदनअनुसार निकुञ्ज संरक्षणका नाममा सेनाबाट चेपाङ समुदायमाथि लामो समयदेखि अन्याय हुँदै आएको छ ।
२०७७ साउन १ गते राजकुमार चेपाङसहित ५ पुरुष र २ महिलासहित ७ जना चेपाङहरु घोंगी, निगुरो साग, माछा खोज्न करिब साढे एक घण्टा जतिको पैदल यात्रा गरी राप्ति नगरपालिका जिउडीस्थित खोलामा पुगेका थिए । खोलामा घोंगी र निगुरो साग टिप्दै गरेको अवस्थामा नेपाली सेनाको पोशाक लगाएको, हातमा बुट बोकेको एक जना जवानले उनीहरु चितवन राष्ट्रिय निकुन्जको निषेधित क्षेत्रभित्र रहेको भन्दै ५ जना पुरुषलाई लात्ताले हिर्काउँदै अपशब्द प्रयोग गरी गालीगलौज गरे । २ जना महिलाले आफ्ना साथीहरुलाई पिटेको देखेपछि नपिट्न आग्रह गर्दा उनीहरुलाई पनि निज जवानले फोहोरीे गाली गरे । ती जवानले अन्य ५ जना सेनालाई बोलाउछन् र यातना दिने क्रममा अन्दाजी एक किलोमिटर टाढासम्म ठूला ठूला मुढाहरु बोकेर हिँड्न लगाउँछन्, पानीमा सुताएर लठ्ठीले निर्मम कुटपिट गरे । उनीहरुलाई कुटने सेनाका व्यक्तिले मदिरा सेवन गरेको भन्ने यातनापीडितहरुको भनाइ रहेको छ र निज हवल्दार दर्जाका भन्ने सुनेको बताउँछन् । २ जना महिलाहरुलाई फोहोर गाली गरेपनि अरु यातना नदिएको बताउँछन् ।
यातनापीडित राजकुमार चेपाङ बेलुका ५–६ बजे घर आउँदा खुट्टा खोच्चाउँदै अशक्त अवस्थामा आएकाले बाबु विष्णुलाल चेपाङ, आमा आइतीमाया चेपाङ र श्रीमती रिपुमायासँग बताउँछन् । पैसाको अभावले तत्कालै औषधि उपचार गर्न नसकेकाले सामान्य घरायसी औषधिमुलो गरी उनको परिवारले राजकुमारलाई ४ दिन घरमै राख्छन् । अवस्था बिग्रदै जाँदा साउन ४ गतेदेखि राजकुमार आफैँ सामान्य हिँडडुल गर्न पनि नसक्ने, ट्वाइलेट जानआउन पनि नसक्ने अवस्थामा पुगेपछि ४ गते नै नजिकैको क्लिनिकमा गई सामान्य औषधि गर्दछन् । ७ गते पनि सोही क्लिनिकमा थप उपचारका लागि जान्छन् । त्यहाँबाट निको नभएर अवस्था झन् बल्झिदै गएपछि ८ गते बिहान भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । उनको टिचिङ अस्पताल, महाराजगञ्ज काठमाडौँमा पोष्टमार्टम गरियो ।
राजकुमारको मृत्युपश्चात स्थानीय बासिन्दा, नागरिक समाज, सञ्चार जगत्, स्थानीय समुदायले पीडितलाई न्याय र दोषीलाई कानूनी सजायको माग गर्दै जनदवाब सिर्जना गरेपछि प्रमुख सेनानी अरुण श्रेष्ठ, मृतकका बाबु विष्णुलाल चेपाङ, नेपाल चेपाङ संघका प्रदेश अध्यक्ष खुशीलाल प्रजा, राप्ति नगरपालिकाका मेयर प्रभा बराल, राजनीतिक दलका प्रतिनिधिलगायतको जिल्ला प्रशासन कार्यालय चितवनमा साउन १६ गते बैठक बसेर दोषीउपर कानूनी कारवाही गर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउने, मृतकको नाबालक छोरीको शिक्षामा सहयोग गर्ने, मृतक परिवारको घर निर्माणमा सहयोग गर्नेलगायतका लिखित सहमति गरी मृतकको दाहसंस्कार भएको थियो । घटनास्थल निकुन्जभित्रको निषेधित क्षेत्र भएता पनि यस अगाडि खोलामा घोंगी टिप्ने, माछा मार्ने घटनामा संलग्नहरु पक्राउ परेको अवस्थामा निकुञ्ज प्रशासनले जरिवाना तिराई छाड्ने गरेको तर यसखाले यातनाको घटना प्रकाशमा नआएको स्थानीयवासी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा मृतकका बुबाले नेपाली सेनाका जवानले राजकुमार चेपाङलाई कुटपिट गरी हत्या गरेको भनी जाहेरी दरखास्त दिएको र जाहेरी दर्ता भएको छ, यस घटना सम्बन्धमा सेना प्रहरीको संवाद भइरहेको बताइन्छ । यद्यपि यातनामा संलग्न सेनाको नाम नेपाली सेनाले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
सेनाको यातनाका कारण राजकुमार चेपाङको मृत्यु भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि नेपाली सेनाको ध्यानाकर्षण विषयमा २०७७ साउन ९ गते नेपाली सेनाकातर्फबाट उक्त घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै दुई बुँदे विज्ञप्ति जारी भएको थियो । विज्ञप्तिमा ‘यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन शुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्नेबारे जानकारी गराउँदछौँ । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्यसम्पादन गर्न प्रतिबद्घ रहेको छ’, उल्लेख गरिएको छ ।
चेपाङहरुमाथि अत्याचार
२०७७ साउन १ गते चितवन राष्ट्रिय निकुन्जमा खटिएका सैनिकद्वारा बर्बर यातनाको घटना घटेकोलगत्तै साउन ४ गते चितवन राष्ट्रिय निकुन्जका कर्मचारी÷सुरक्षाकर्मीले माडी नगरपालिका कुसुमखोलामा बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ समुदायको घरमा आगजनी गरेको अर्को घटना प्रकाशमा आएको छ । उक्त अमानवीय घटनाको विरुद्धमा माडी नगरपालिकाका तर्फबाट नगरप्रमुख ठाकुरप्रसाद ढकालद्वारा साउन ४ गते विज्ञप्ति जारी गरेको छ । ‘माडी नगरपालिका वडा नं ९ कुसुमखोलामा रहेका सुकुम्बासी चेपाङ समुदायका घरमा चितवन राष्ट्रिय निकुन्जले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा माडी नगरपालिका घोर भत्र्सना गर्दछ ।’
२०५३ सालबाट सो ठाउँमा बस्दै आएका सुकुम्बासी चेपाङहरुलाई स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी उनीहरुका लत्ताकपडा–भाँडाकुँडा, महत्वपूर्ण कागजात तथा निमेख गरेर कमाएको रकमसमेत पूर्णरुपमा नष्ट हुने गरी २ वटा घरमा आगो लगाउने तथा ८ वटा घरहरु हात्ती लगाएर भत्काउने जो निकृष्ट र अमानवीय कार्य भएको थियो ।
माडी नगरपालिकाले सो सुकुम्वासी चेपाङ बस्तीलाई स्थानान्तरण गरी व्यवस्थापन गर्ने गरी थालेको कार्यमा समेत अवरोध पु¥याउने र लामो समयदेखि बस्दै आएको सुकुम्बासी बस्तीमा उपर्युक्त अर्को विकल्पबिनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्यप्रति खेद व्यक्त गर्दै घरबारविहीन बनाइएका ती सुकुम्बासी चेपाङहरुको उचित व्यवस्थापनका लागि तत्काल ध्यानाकर्षण होस् भनी नेपाल सरकारसँँग अनुरोध गर्दछु । स्थानीय निकाय प्रमुखको उपरोक्त विज्ञप्तिले चितवन राष्ट्रिय निकुञ्जले गर्दै आएको विपन्नमाथिको ज्यादति उदांगो भएको छ ।
(चितवन–राष्ट्रिय निकुञ्ज लिगलिगे पोष्ट जिउडीमा सेनाले दिएको यातना र एक जनाको मृत्युको घटना सम्बन्धमा मानव अधिकार तथा शान्ति समाजको स्थलगत अध्ययन अनुगमन प्रतिवेदनमा आधारित)