काठमाडौं, १० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले गौरा पर्व–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना दिँदै गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
गौरा पर्वजस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा गर्दै शुभेच्छा व्यक्त गरेकी छन् ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ । यस पर्वमा कामविशेषले परदेश गएकाहरू घर फर्कने र विवाहिता महिलाहरू माइत जाने गर्छन् । यस अवसरमा पा“च प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने यस पर्वका अवसरमा महिलाले शिव र पार्वतीको पूजा अर्चनासहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने, निःसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास छ ।