नयाँदिल्ली, ११ भदौ (एएनआई) । भारतमा एकैदिन अहिलेसम्मकै धेरै झण्डै ७६ हजार संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्यांक छ । तीमध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल संक्रमितमध्ये सात लाख २५ हजार ९९१ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ । प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना संक्रमित भएका छन् ।