काठमाडौं । नेपाल बंगलादेश बैंकले कन्ट्याक्ट आईपीएसमा खाता स्लिप गरी भेरीफाइ गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाइनबाटै कन्ट्याक्ट आईपीएसमा आफ्नो खाता भेरीफाइ गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाइ गराउने बाध्यताको पनि अन्त्य भएको छ ।
बैंकका ग्राहकले कन्ट्याक्ट आईपीएसमा ‘लिंक एकाउन्ट’ भित्र आफ्नो खाता स्लिप गरिसकेपछि ‘सेल्फ भेरीफाइ एकाउन्टमा क्लिक गरी खातालाई भेरीफाइ गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, ओटिपी (वान टाइम पासवर्ड) र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेशन हुने व्यवस्था रहेको छ । नेपाल बंगलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको छ ।
अनलाइनबाटै कन्ट्याक्ट आईपीएसमा खाता ष्लिप गर्ने सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको बिषम परिस्थितिमा पनि ग्राहकले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफरलगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न सकिने भएको छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कन्ट्याक्ट आईपीएसको वेभसाइट www.connectips.com यसको मोबाइलएप, बैंक वित्तीय संस्थाको मोबाइल र इन्टरनेट÷बैंकिङमा रहेको कन्ट्याक्ट आइपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा पेमेन्ट गेटवेको रुपमा जोडिएको कन्ट्याक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।