काठमाडौं, १३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरु हेरफेर नहुने प्रष्ट पारेका छन् । आगामी निर्वाचनपछि मात्रै मुख्यमन्त्रीहरुको नयाँ आउने ओलीको भनाई छ ।
प्राइम टाइम टेलिभिजनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन पनि उनै आउन पनि सक्छन नआउन पनि सक्छन्। त्यो सैद्धान्तिक कुरा हो।’ मुख्यमन्त्रीको हेरफेरले अस्थिरता तर्फ देश जाने भएकाले हेरफेर नहुने बताए । पार्टीभित्रको विवाद मिलाउन पछिल्लो समय मुख्यमन्त्री र केन्द्रीय सरकारका मन्त्री हेरफेर हुने चर्चा रहेका बेला ओलीले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषदको हेरफेरको अधिकार प्रधानमन्त्रीमा रहेको उल्लेख गर्दै आवश्यकता हुने बताए। पुर्नगठनको लागि समीक्षा गर्ने क्रममा रहेको जानकारी गराए।उनले भने, ‘यो प्रधानमन्त्रीले विचार गर्ने कुरा हो। आशिंक वा पूर्ण हेरफेर गरेर नयाँ टिम गठन गरेर गतिशितलताका साथ अघि जान सकिन्छ। प्रधानमन्त्रीले विचार गर्ने कुरा हो।’ कुनै पनि मन्त्रीहरु प्रति असन्तुष्टि नरहेको उनले उल्लेख गरे। पार्टीभित्रका विवाद मिलिसकेको र अर्का अध्यक्ष प्रचण्डसँग कुनै विवाद नभएको समेत बताएका छन् ।
छिट्टै सचिवालय बैठकमार्फत विवाद समाधानको प्रतिवेदन स्वीकृत गरी कार्यान्वायन गरी अघि बढ्ने उनको भनाई छ ।