काठमाडौं, १४ भदौं । अब जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा शुक्रबार एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । तर, विदेशबाट हुने कारोबारमा भने शुल्क लिन बन्देज गरिएको छैन ।
यसअघि स्वदेशको कारोबारमा लाग्दै आएको सेवाको शुल्कसमेत बैंक तथा वित्तीय संस्था आफँंले निर्धारण गर्दै आएका थिए । केही बैंकले भने यस्तो सेवा निःशुल्क गर्दै आएका थिए ।
निर्देशनमा, त्यसरी जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअघि नै त्यसको सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एसएमएसमार्फत् प्रयोगकर्तालाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख गर्नुपर्ने भनिएको छ । एउटा बैंक ताथ वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्थासमेत प्रष्ट पारिएको छ ।