Logo
Logo

साल्ट ट्रेडिङले मल दियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ भदौ । खेती किसानले मल नपाएर हैरानी खेपिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६ हजार ९ सय बोरा युरिया मल भित्र्याएको छ । साउन महिनामा युरिया मलको अभाव भएका बेला साल्ट ट्रेडिङले गत साता ल्याएको छ हजार ९ सय बोरा मलमध्ये ११ सय बोरा मल सहकारीको माध्यमबाट विराटनगर, झापाको बिर्तामोडदेखि सप्तरीको राजविराजसम्म पु¥याएको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले जानकारी दिएका छन् ।

स्रोतका अनुसार थप १९ हजार बोरा सीमापारि जोगबनी भन्सारमा आउनेक्रममा छ । साल्ट ट्रेडिङको कोलकातामा यतिवेला ३२ हजार टन (६ लाख ४० हजार बोरा) युरिया आएको छ । सोमध्ये १ लाख १३ हजार बोरा युरिया विराटनगर भन्सारबाट पास भएर झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लाका सहकारीबाट किसानलाई वितरण गर्ने योजना छ ।

धानखेतीका लागि किसानले साउन पहिलो साताबाट युरिया छर्नुपर्ने भए पनि देशभर मल हाहाकार भएपछि किसानहरू चिन्तित बनेका थिए । तर, साल्ट ट्रेडिङले ल्याएको युरिया पनि मागअनुसार अपुग छ ।

यसपटक युरियाको चरम अभाव भएकाले सुरुमा धानखेती लगाएका तराईका किसानलाई मल उपलब्ध गराउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रणनीति छ । त्यसपछि दोस्रो चरणमा पहाडी र हिमाली जिल्लाका किसानलाई मल उपलब्ध गराइनेछ । धान गोड्नका लागि देशभर ४० हजार टन युरिया भए पुग्छ । त्यसैले अहिले साल्ट ट्रेडिङले आयात गर्न सुरु गरेको ३२ हजार टन युरिया धानखेतीका लागि मात्र प्रयोग गर्ने हो भने अधिकांश क्षेत्रमा पुग्ने साल्ट टे«डिङ बताउँछ ।

साल्ट ट्रेडिङ लिमिटेड सरकारी स्वामित्व भएको सफल संस्था भए पनि सरकारले यसलाई बेवास्ता गर्दै आएको छ । देशमा हरेक संकट पर्दा यस संस्थाले देश र जनताको पक्षमा काम गर्दै आएको छ । देशैभरि आयोनुनबाट योगदान पु¥याएको यस संस्थाले भूकम्प र नाकाबन्दीका बेला पनि जनतालाई आफ्नो सेवा सुलभ तरिकाले उपलब्ध गराउँदै आएको थियो । हरेक दशैँ तिहारमा चिनी र असार साउनमा मलको अभाव हुने भए पनि सरकारले मल र चिनी आपूर्तिमा बेलैमा ध्यान पु¥याउन नसक्दा उपभोक्ता मारमा परेका छन् । तर, यस संस्थाले ठिक समयमा मल, चिनी आयात गरेर देशमा कालोबजारी रोक्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्