काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक अन्तर्वातामा संवैधानिक नियुक्तिका लागि सहमति भइसकेको दाबी गरेका छन् । तर, विवादका कारण संवैधानिक परिषद्को बैठक भने बस्न सकेको छैन ।
खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै नियुक्तिमा कुरा मिल्न नसकेको स्रोत बताउँछ । आयोगमा हाल आयुक्तका दुई पद रिक्त छन् । २९ भदौदेखि प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाउँदैछन् । तीन पदका लागि २० भन्दा धेरै हाइप्रोफाइल व्यक्तिहरु प्रतिस्पर्धामा छन् ।
प्रमुख आयुक्तमा हालकै आयुक्त डा.गणेशराज जोशीको बढुवा हुने सम्भावना छ । तर, सत्तारुढ दलभित्र अझै उनको नाममा सहमति भइनसकेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो नम्बरमा पूर्व सचिव प्रेम राई नै छन् । राईभन्दा जोशी सिनियर सचिव हुन् । जसकारण राईलाई प्रमुख आयुक्तमै नियुक्त गर्दा समस्या हुने अवस्था समेत छ ।
अख्तियारमा प्रमुख आयुक्त समयमा नियुक्त हुन नसक्दा आयोग कार्यवहाक प्रमुखको भरमा चल्ने निश्चित भएको छ । तत्कालै नियुक्त भएपनि संसदीय सुनुवाई लगायत प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले प्रमुख आयुक्तको नियुक्ति दुई साताभित्र सम्भव छैन । जसकारण २९ भदौपछि जोशीले कार्यवहाक प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हाल्नेछन् ।
उता अवकाशको समय नवीन घिमिरेका लागि तनावपूर्ण बनेको छ । दुई सातादेखि उनी कोभिडको कारण उपचार गराइरहेका छन् । अवस्था सामान्य भए पनि उनको तेस्रो रिपोर्ट समेत पोजेटिभ आएको स्रोत बताउँछ । अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही समय आइसोलेसनमा बस्नुपर्ने भएकाले आयोगको बैठक बसाएर निर्णय गराउन समस्या हुने देखिएको छ । अवकाशअघि उनले केही मुद्दाहरुको निर्णय गर्न चाहेको स्रोत बताउँछ । घिमिरेले आफ्नो कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरेर रेकर्ड कायम गरेका छन् ।