काठमाडौं, १७ भदौ ।
कास्की, मोरङ र कैलाली प्रहरीले मंगलबार अपराधविरुद्ध महत्वपूर्ण सफलता हात पारेका छन् ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका ४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
कास्की प्रहरीले एकैदिन २८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका(२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएका २१ वर्षीय अनिल थापा मगर, पोखरा महानगरपालिका–१० बस्ने बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ र केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ । दण्डहिनताविरुद्धको अभियानमा फरार अभियुक्तलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।
उता कैलाली प्रहरीले दुई जना मोष्ट वान्टेडलाई पक्राउ गरकोे छ । १६ वर्ष अघि कारागारबाट भागी फरार रहेका फरक फरक मुद्दाका दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । डाँका चोरी मुद्दाका गौरिगंगा नगरपालिका(२ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका(५ बस्ने ४८ वर्षीय पुरण प्रसाद कुमाल पक्राउ परेका हुन ।
डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीको २०६६ असार २ गतेको फैसलाले ६ वर्ष कैद र ४ हजार १ सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना ठहर भएका चौधरीलाई सोमबार आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो । उनीहरुलाई कारागार चलान गरिएको कैलालीका एसपी अनुपमशमशेर राणाले बताए ।