काठमाडौं, १९ भदौ ।
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय कार्यान्वायन गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ ।
बिहीबार बसेको नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसको प्रस्ताव गरेका थिए ।
वामदेव राष्ट्रियसभामा सांसद बनेसँगै अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल पनि समाप्त हुँदैछ । आजको मन्त्रिपरिषद् बैठक नै उनको लागि अन्तिम हुनेछ । तर, उनलाई पनि अर्काे नियुक्तिबारे छलफल भइरहेको बालुवाटार स्रोत बताउँछ । प्रधानमन्त्रीकै सल्लाहकार पदमा राख्ने तयारीबारे बिहीबार पनि छलफल भएको थियो ।
उता वामदेव गौतमले उपप्रधानसहित अर्थमन्त्री दाबी गरेपनि उनी सरकारमा जाने सम्भावना कम छ । टक्कर पर्नसक्ने भएकाले पनि प्रधानमन्त्रीले उनलाई सरकारमा लैजान चाहेका छैनन् । अर्काेतर्फ चुनाव हारेको व्यक्ति मन्त्री हुन अयोग्य हुने संवैधानिक प्रावधान छ ।
अर्थसहित सञ्चार, सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्तिका लागि पनि नेकपाभित्र छलफल अघि बढेको छ । भदौभित्रे मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी छ ।