काठमाडौं, २१ भदौं । रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । ‘वर्षा र सहकालका देवता’ मानिने मच्छिन्द्रनाथ रथयात्रा यसवर्ष विगतका वर्षझैँ गाःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएपछि रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।
आज बिहानैदेखि १९आँै जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । उनले मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने बताए । उनले भने, ‘हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन् ।’ गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराए ।
लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छाँै ।’ रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराए ।