काठमाडौं, २३ भदौ । नेपालको अदालतमा अनेक किसिमका चलखेल हुन्छन् । कतिसम्म भने अदालतमा नाम ढाँटेर समेत सफाई पाउनेहरु छन् । हाल सांसद भएका डन दीपक मनाङेदेखि नक्कली नोट कारोबारीका नाइके इल्ताफ हुसेन लगायतले यसरी नाम ढाँटेर विगतमा उन्मुक्ति पाएका थिए ।
अहिले एक सुन तस्कर पनि त्यसैगरी उन्मुक्ति पाउने खेलमा छन् । ३७ सय केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका महावीरप्रसाद गोल्यानले यस्तो चलखेल थालेकोे प्रहरीहरु बताउँछन् । आफु आर्कै महावीर प्रसाद गोल्यान भएको भन्दै उनले उन्मुक्ति पाउने प्रयास गरेका छन् ।
छानबिनको क्रममा सुन तस्करीमा उनको पनि लगानी देखिएको थियो । सो गिरोहका टेकराज मल्ल ठकुरी र नरेन्द्र कार्कीले उनको नाम पोलेका थिए । टेकराजले नै उनी बस्ने अपार्टमेन्ट देखाएर पक्राउ गराएका थिए । जबकी अहिले गोल्यान आफु अर्कै महावीर प्रसाद गोल्यान भएको भन्दै दाबी गरिरहेका छन् ।
उनी धुम्बाराहीको अपार्टमेन्टमा बस्दछन् । पक्राउ परेका टेकराजले उनको अपार्टमेन्ट देखाएर पक्राउ गराएका थिए । तथा पटक पटक टेलिफोन सम्पर्क समेत देखिएको थियो । उनको अहिले सम्पत्ति समेत छानबिन भइरहेको छ । उन्मुक्ति पाउनका लागि बृद्ध व्यक्तिलाई प्रहरीले फसाएको भन्दै उनी विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्रिय रहेको प्रहरीहरु बताउँछन् । सुरुमा जेल चलान भएका गोल्यान पछि उच्च अदालतबाट धरौटीमा छुटेका थिए ।