साहित्यिक भावनाहरु कता गए ? साहित्यिक पाठकहरुलाई बिर्सेको ? यस्ता जिज्ञासाहरुले कहिलेकाहीँ म झस्कन्छु ।
पुराना दिनहरु र कुराहरु सम्झियो सबै साहित्यिक थिए ती । घण्टौँ उडान भरेर धेरै माथि माथि, धेरै पर परसम्म कल्पनाको सागरमा डुबिरहने रमाइरहने के म नै थिएँ ? कति कथाहरु लेख्ने के म नै थिएँ ? अहिले ती कल्पनाका भण्डारहरुमा खडेरी किन ? फिक्सन राइटिङ किन सबै अर्थहीन लाग्छन् ? यस्तो सोचिरहँदा अर्को मनले भन्छ समय फरक हुनसक्छ तर कल्पना र सिर्जना कहिल्यै हराउँदैनन् । सुनिदै आएको पनि हो कि यी कालजयी हुन्छन् ।
फर्केर हेर्दा सम्झनामा जहिले पनि आउने भनेको आफ्नो जन्मथलो ओखलढुंगाको भैरव टोल बजार हो जहाँ आफ्नो घर थियो । ओखलढुंगा त ठूलो थियो तर सानो बाल मस्तिष्कमा सदरमुकाम बजारका दुई तीन टोलहरुमात्र अटाउँथ्यो गणेशटोल, भैरवटोल, रामबजार । त्यो सम्झना मेरो आयुको एउटा स्वर्णिमकालको सम्झना हो । एउटा एउटा साना सुन्दर क्षणहरुलाई अक्षरमा उतारेर धेरै सम्झनाहरु तयार त होलान् तर ती हुबहु त्यस्तै चाहिँ हुँदैनन् ।
स्वभाविकरुपले बाल्यकाल जीवनकै अति सुन्दर, शान्त, सौम्य अनि सत्यताले भरिएको पाटो हो । तर चाहेर पनि फेरि कहिल्यै त्यो अवस्थामा फर्कन सक्ने अवसर मान्छेको जीवनमा प्राप्त हुँदैन । जो बित्यो त्यो बित्यो । जे सकिनु थियो त्यो सकियो । एउटा असल प्रणाली र सुशासनको चाहनामा कर्मथलोमा होस् या समाजमा जुझारु योद्धालेझैँ अग्रमोर्चामा रहेर विसंगति विकृति र अन्यायविरुद्ध त जुध्यौँ होला हामी । तर आफ्नै शरीरका खिइँदै गएका मेरुदण्ड र खैरो सेतो हुँदै गएका हाम्रा कपालविरुद्ध हामी लड्न नसकी हार खान्छौँ ।
काठमाडौँ हामीहरुका लागि टाढाको जुनजस्तै थियो त्यतिबेला । जीवनमा काठमाडौँ जाने दिन आउला र ? बाल हृदयले काठमाडौँलाई आफ्नो पहुँचभन्दा धेरै टाढाको बिशाल संसार ठान्थ्यो । मानौँ काठमाडाँै र ओखलढुंगाबीचका अनगिन्ती पहाड, जंगल र खोलानाला छिचोल्न आफ्ना हातका दुवैतिर ठूल्ठूला पखेटा चाहिन्छ जो आफूसँग थिएन । र थिए साना–साना इत्रुइत्रु पिचुर्के खुट्टाहरु र नै काठमाडौँ असम्भव थियो । त्यतिबेला कलेज क्याम्पसको सुविधा थिएन ओखलढुंगामा र एसएलसी पास गरेपछि मात्र काठमाडाँै जाने अवसर आउँथ्यो उच्च शिक्षाको लागि । एसएलसी पास गर्नु अर्को ठूलो अजंगको पहाड छिचोल्नु थियो । त्यसैले सपना अनिश्चित थियो ।
तीन कक्षामा पढिरहेको र चार कक्षा जान खुट्टा उचाल्दै गर्दा हामीले पढिरहेको पाँच कक्षासम्मको प्राइमरी स्कूल कतै टाढा सारिएछ । बच्चाहरु त्यति टाढा जान सक्दैनन भन्ने बजारका अभिभावकहरुको सल्लाह भयो । हामीलाई एकैचोटी छ कक्षादेखि मात्र पढाइ हुने सगरमाथा पब्लिक हाइस्कूलमा छ कक्षामा नै भर्ना गरियो । अल्जेब्रा के हो, जियोमेट्री के हो ? साइन्स कुन चराको नाम हो सबै अलमल्ल । त्यही पनि साइन्स र म्याथ शिक्षक पटना दरभंगादेखि खोजेर ल्याइन्थ्यो । बिएससी सर, बिएबिटी सर, ढाले सर । पहाडको चिसोमा टिक्न नसकेर कति ती हाम्रो पढाइलाई अलपत्र बनाएर फर्कन्थे । एक त बीचमा नपढी छ कक्षामा हामीलाई जबर्जस्ती भर्ना गरिएको थियो, अर्को त शिक्षकहरुको हाल त्यस्तो थियो । यस्तो धरमरोमा कहिले एसएलसी पास गर्नु यस्तो गतिले ? यस्तै सोचाइमा काठमाडौँ झन परपर भाग्थ्यो ।
स्वभाविकरुपले बाल्यकाल जीवनकै अति सुन्दर, शान्त, सौम्य अनि सत्यताले भरिएको पाटो हो । तर चाहेर पनि फेरि कहिल्यै त्यो अवस्थामा फर्कन सक्ने अवसर मान्छेको जीवनमा प्राप्त हुँदैन । जो बित्यो त्यो बित्यो । जे सकिनु थियो त्यो सकियो । एउटा असल प्रणाली र सुशासनको चाहनामा कर्मथलोमा होस् या समाजमा जुझारु योद्धालेझैँ अग्रमोर्चामा रहेर विसंगति विकृति र अन्यायविरुद्ध त जुध्यौँ होला हामी । तर आफ्नै शरीरका खिइँदै गएका मेरुदण्ड र खैरो सेतो हँुदै गएका हाम्रा कपालविरुद्ध हामी लड्न नसकी हार खान्छौँ । जीवनचक्रमा आइपर्ने परिवर्तनसँग हामी नतमस्तक भएर सम्झौता गर्नुबाहेक अरु केही गर्न सक्दैनौँ । जीवनको एउटा ब्ल्याक एण्ड ह्वाइट मेमोरी हो यो र नै कहिलेकाहीँ फर्केर हेर्दा देखिने बालसुलभ रंगीन सम्झनाहरुमा पुग्न मन लाग्छ ।
सदरमुकामको भैरबटोल बजारमा रहेको आफ्नो घरको अगाडि झ्यालवाट पूर्वतिर हेर्दा टु‘डिखेल र त्यसको तल सगरमाथा पव्लिक हाइस्कुल अनि घरको पछिल्तिरको वार्दलीवाट पश्चिम तिर हेर्दा गणेश टोलको डॉडा घर अर्थात वुढो मावली अनि सरस्वती मन्दिर र विरेन्द्र पार्क रहेको डाँडा । उत्तर तिर हेर्यो भने रमाइलो डॉडाको बजारका केहि अंश अनि दक्षिण तिर परको ज्यामिरे जाने वाटोको चौतारी भञ्ज्याङ्ग र त्यसभन्दा अलि तल राम वजार तलतिरको वाक्लो र कालो रानी वन । त्यतिवेला आफ्नो आँखाले भ्याएको एउटा सानो र सुन्दर संसार यति नै थियो ।
आमालाई घरको काममा सघाउने सिलसिलामा कहिलेकाहीँ पूजा गर्ने पालो पथ्र्यो । पूजा गर्ने कार्य रमाइलो नै लागे पनि बिहान सबेरै उठ्नुचाहिँ अलि मन पर्दैनथ्यो । किनकि राति अबेरसम्म पढ्ने बानी थियो । एकाविहानै चैनपुरे करुवा हल्लाउदै चोखो पानी लिन घर भन्दा अलि तल पर्ने सार्वजनिक धारो भएको ठाउमा जानुपथ्र्यो । अहिले जस्तो घरैपिच्छे धारो त्यतिवेला थिएन । वरपर बनको किनारा र झारपातले छोपिएको अनि बीचमा ओरालै ओरालो साना साना खुड्किला । कहिले एक्लै र कहिले वरपरका साथीहरुसंग धारामा गइन्थ्यो । ससानो खुड्किला भएको त्यो ढुंगे ओरालोमा हामी फुच्चीहरुको ससाना पैतलाहरु ठिक्क अटाउथ्यो । माटो र झार पातले करुवा माँझेर टलक्क पार्नु पथ्र्यो । हातमुख, खुट्टा धोइवरि चोखो भएर चोखो पानी थाप्नु पथ्र्यो । घर पुगेर पछाडिको सानो फूलबारीमा भगवान्लाई चढाउन फूल टिप्न जॉदा बोटभरि पातहरुमा र फूलहरुमा परेका शीतका थोपाहरु देख्दा फूल टिप्नभन्दा पनि शीतको त्यो टलपलमा रमाउन थाल्थेँ म । वरिपरि घुमेर सबैथरि फूलहरु र बोटहरु नियालेर हेरिरहनु मन पथ्र्यो । सुन्दर सानो बगैँचामा ढाकिमा फूल टिप्दै गरेकी, फ्रक लगाएकी एउटी सानी फुच्ची म । त्यतिबेला हातहातमा फोन कसैको थिएन नै फोटो खिच्न । तर त्यो मनोरम सानो बगैँचा, म अनि शीतका ती थोपाहरु आफ्नै मनका पानाहरुमा मात्र सुरक्षित छन् । किनकि त्यो ठाउँमा फूलहरु फूल्दैनन् अहिले घरहरु फलेका छन् । चोखो पानी लिन जाने त्यो साना साना ओरालो खुड्किले बाटो जहाँ बजारका फुच्चीहरुको साना साना अबोध पाइलाहरु छमछम हिँड्थे अहिले बजारभरिका ढल बग्ने भड्खालोमा परिणत भएछ । घर–घरमा धारो आएको छ । तर चोखो पानी र शीतले रुझेका फूलहरु कहा छन ? हराएका ती ऐतिहासिक धरोहर र सुन्दर दृश्यहरुलाई सम्झदै म आफैलाई प्रश्न गर्छु ।
बाल्यकालको सम्झना स्वच्छ एउटा कुवा हो भने काठमाडौ एउटा बिशाल समुद्र । उच्च शिक्षा, बिभिन्न परिक्षाहरुको कसीमा आफूलाई घोट्दै धेरै त्यस्ता चर्को प्रतिस्पर्धामा लड्दै जानु आफै एक ठूलो समुन्द्रमा डुबेर हराउनु जस्तै हो । जिबीकोपार्जनको मार्गमा घिर्सदै, पारिबारिक डोरी उन्दै काठमाडौमा स्थापित हुनेक्रमका ती संघर्षहरुले चोखो पानी थाप्न जाने ती अबोध फुच्चीहरु अबोध रहेनन । पूजा गर्ने कुवाको चोखो पानी र फूलहरु धेरै पछाडि छुटे । चोखो नत यो समुद्र छ । चोखो नत हामीनै छौँ । कहिलेकाहि चिच्याएर भन्न मन लाग्छ
– मलाई ठूलो, जुठो र झुठो समुन्द्र चाहिएन
– मलाई त्यहि सानो चोखो पानी भएको कुवा नै देउ ।