काठमाडौं, २४ भदौं । उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेका हुन् ।
मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको मोडालिटी बुधबार स्वीकृत भएसँगै तीनै जिल्ला प्रशासनले खुकुलो व्यवस्थासहित निषेधाज्ञा जारी गर्ने भएका हुन् ।
नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवं कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो । तर, होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्दै रहनेछन् ।
निषेधाज्ञा खुकुलो भएपनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइनेछैन ।
काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका थिए ।
मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहित कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्र निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो ।
उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले २ भदौमा पहिलोपटक एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए । पछिल्लो पटक भदौ १७ गतेदेखि २४ गते राति १२ बजेसम्म लागि निषेधाज्ञा जारी गरिएको थियो । तर, निषेधाज्ञापछि पनि उपत्यकामा संक्रमण घटेको छैन ।