Logo
Logo

एसपीसहित ६ प्रहरीविरुद्ध मुद्दा, तत्काल निलम्बन हुने


- दृष्टि न्युज/संवाददाता

189
Shares

रौतहट, २४ भदौ ।

हिरासतमा रहेका युवकको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै पीडित परिवारले रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।


पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डिएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सइ वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनिया र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् । डिएसपी महतो विजय महराको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख थिए ।
वीरेन्द्र यादव गरुडामै कार्यरत छन् । यस्तै प्रहरी निरीक्षक नवीन सिंह, हवल्दार मियाँ र सिंह निरञ्जन रामको हत्यापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आएका थिए । गाउँकै युवक निरञ्जन राम हत्या आरोपमा ३२ साउनमा विजय महरा प्रक्राउ परेका थिए ।

हिरासतमै रहेका वेला उनको उपचारका क्रममा वीरगञ्जको नेसनल मेडिकल कलेजमा मृत्यु भएको भनिएको छ । घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको छ । उनको स्थानमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।

जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ । सो घटनालाई लिएर रौतहटमा दलितसम्बद्ध संस्थाहरूले केही दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
किटानी जाहेरी दर्ता भएपछि प्रहरीहरु निलम्बन हुने प्रहरी नियमावलीमा उल्लेख छ । तर, यस्तो प्रवृत्तिले प्रहरीको भने मनोबल खस्किएको छ । प्रहरीले यातना दिएमा प्रहरीविरुद्ध नै मुद्दा चल्ने कानून बनेको थियो । कानून बन्दा ख्याल नगर्दा अहिले प्रहरी समस्यामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्