काठमाडौं, २ असोज ।
सरकारले यो वर्ष संविधान दिवसको अवसरमा करिब ६ सय जनालाई विभिन्न प्रकारका विभूषण दिने भएको छ । विभूषण पाउनेमा कोभिड– १९ रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी छन् । संविधान दिवसको अवसरमा शनिबार विभूषण पाउनेहरूको नाम सार्वजनिक हुँदै छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकमा विभूषणको सूचीमाथि छलफल भएको छ । करिब ६ सयलाई विभूषण दिने सूची तयार भएको र त्यसमा केही हेरफेर हुन सक्ने एक मन्त्रीले बताए ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स, ल्याबका कर्मचारी र सुरक्षाकर्मीको योगदानको कदर गरी उनीहरूलाई प्राथमिकता दिएर विभूषण दिने तयारी छ । गृहले स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संख्या पनि विभूषण पाउनेमा छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विभूषण सिफारिस समितिले मन्त्रिपरिषदमा विभूषण पाउनेहरूको सूची बुझाएको हो ।
गत असारमा मात्र सरकारले विभूषणसम्बन्धी नियमावली संशोधन गरी एक वर्षमा बढीमा दुई सयलाई मात्र विभूषण दिने निर्णय गरेको थियो । विशेष परिस्थिति भएको भन्दै त्यसलाई संशोधन गरी करिब ६ सयलाई दिने लागिएको हो ।
विभूषणको ओज घटेको भन्दै यो वर्ष मानपदवी एक सय तथा अलंकार र पदक ५०–५० वटा मात्र दिइने गृह मन्त्रालयले जनाएको थियो । विशेष परिस्थितिका कारण सो प्रावधान लागू नहुने भएको छ । गत वर्ष ६ सय ३३ जनालाई विभूषण दिने घोषणा भएको थियो । १ वैशाखमा विभूषण दिने चलन भए पनि यो वर्ष कोरोनाका कारण वितरण हुन सकेको छैन । सामान्य अवस्था भएपछि मात्र गत वर्षको विभूषण दिइने गृह मन्त्रालयले जनाएको छ ।