काठमाडौं, ५ असोज
यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई दिने निर्णय भएको छ । प्रेस काउन्सिल नेपालले हरेक वर्ष प्रदान गर्ने पुरस्कारमध्ये गोपालदास पत्रकारिता पुरस्कार सबैभन्दा प्रतिष्ठित पुरस्कार हो ।
एक लाख ५१ हजार राशीको सो पुरस्कार मंगलबार प्रेस काउन्सिलको ५१ औं स्थापना दिवसको अवसरमा प्रदान हुँदै छ । काउन्सिलले पुरस्कार पाउनेहरुको विवरण सोमबार सार्वजनिक गरेको छ ।
काउन्सिलले यो वर्ष प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका पत्रकार अर्जुन बोहरालाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशी एक लाख १० हजार रुपैयाँ छ ।
त्यस्तै ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई दिने निर्णय भएको छ । २० हजार राशीको क्रियाशिल पत्रकारीता पुरस्कार रिपोर्टस क्लबका अध्यक्ष ऋषी धमलासहित, गोविन्द क्षेत्री, राजन कार्की, उमेश श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ र नितु पण्डितलाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ ।
१५ हजार रुपैयाँ राशीको युवा पत्रकारिता पुरस्कार १४ जनाले पाउने भएका छन् । नेपालफेस डटकमका सम्पादक माधव पौडेलसहित सटेन्द्र जबेजु, सुरेशचन्द्र अधिकारी, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विक, कमला श्रेष्ठ, राजन सिंह, देवीकुमारी गुरुङ, रेणु पराजुली, दीपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल र शान्ता कमलीलाई युवा पत्रकारिता पुरस्कार दिने निर्णय भएको छ ।
साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन त्रैमासिक तथा भाषागत पत्रकारिता पुरस्कार गणेश राईले पाउने भएका छन् ।