काठमाडौं, १७ असोज
प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई काठमाडौं महानगरपालिका(१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिक–३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरु गुन्डागर्दीमा सक्रिय व्यक्ति भएको खुलेको छ ।