Logo
Logo

समृद्धिको यात्रा, गन्तव्य ओडार !


- माथवरसिंह बस्नेत

0
Shares

“दैनिक ज्यालादारी र भारीबोक्ने काम नपाएपछि तनहुँको एक परिवार ओडारमा बस्नथालेका छन् । मजदूरी गरेर कोठा भाडा तथा दैनिक उपभोग्य बस्तु खरीदगरेर जीविकोपार्जन गरिरहेका मनवीर गुरुङका चारजनाको परिवार कामविहीन भएपछि ओडारमा बस्नथालेका हुन् । कोरोनाका कारण छ महिनादेखि काम पाउन छाडेकाले कोठा भाडा तिर्न नसकेपछि त्यो कोठा छाडेर ओडारमा आएर बसेको गुरुङले बताए । व्यास नगरपालिका– अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओडारमा बस्दै आएका गुरुङसंगै उनकी श्रीमती, अपाङ्गता भएका २० वर्षका छोरा र १३ वर्षकी छोरी रहेका छन् । काम नपाएका गुरुङले हिजोआज स्थानीय जनतासंग अन्नपात मागेर परिवारको गुजारा चलाई रहेका छन् ।” राष्ट्रिय दैनिक, गोरखापत्रका तनहुँ समाचारदाताको चार कालममा तस्वीरसहित प्रकाशित खबरको निचोड अथवा सार–संक्षेप यत्ति हो ।

माथवरसिंह बस्नेत

हिजोसम्म नेपालीको यात्रा, सुस्त, शिथिल तथा गतिहीन अवश्य थियो तर, त्यसको दिशा सुल्टो थियो । अहिलेको विडम्वना के छ भने नेकपाको सरकारले दिशाबोध नै गर्न सकेन । हाम्रो सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना के देखाएको थियो, सुख र समृद्धि दुवै नेपालबाट सुँइकुच्चा ठोकेर भागेका छन् । वास्तवमा झण्डै दुई तिहाई बहुमतको सरकारले लगाएका ती नारा र देखाएको सपना, जनताले राम्ररी आत्मसात पनि गर्न पाएका थिएनन्, कोरोना भाइरसले उडाइदियो ।

राजधानीको निकट जिल्ला र त्यसको सदरमुकामको हाल यो छ भने दुर्गम जिल्लाका विकट गाउँको अवस्था कस्तो होला, जसले पनि अनुमान लगाउन सक्छ । त्यो समाचार सरसरति पढ्ने जो कोहीको छाती चरक्क चिरिनपुग्यो भने त्यसका निम्ति अग्रिम क्षमायाचना गर्नुपर्छ । किनभने, कोरोनाले मानिसलाई निर्मम तथा पाषाण बनाउँदै लगेको छ भन्दैमा नेपाली सबैले सम्वेदनशीलता गुमाइसकेका अवश्य छैनन् । निराशा र नकारात्मकताले उनीहरु कुण्ठित अवश्य छन्, तैपनि यस्ता समाचारले पनि नछुने हदसम्म निष्ठूर तथा हृदयहीन भइसकेका छैनन् । कसैले यसलाई समृद्ध नेपाल, सुखी नेपालीको सरकारी संकल्पका परिप्रेक्षमा अर्थ लगाएर त्यस्तो प्रतिवद्धको माखोल उडाउन सक्छन् । अझ कसैले नेकपाको दुई तिहाईको सरकारले देश, काल र परिस्थितिलाई फनक्क फर्काएर ओडार युगमा फर्काएको आरोप पनि लगाउन बेर छैन । अत्यन्त कठोर सत्यको सामना गर्नुपर्दा हठात् उत्पन्न हुने त्यस्ता प्रतिक्रियालाई अस्वभाविक नठाने पनि स्वभाविक र ठोस यथार्थ पनि मान्न सकिन्न । परिवर्तनका प्रक्रियामा यस्ता अनेक मोड आइरहन्छन् । तर, जनताप्रतिको जवाफदेही र जिम्मेदारी निर्वाहको अहम सवालबाट सरकार कुनै पनि बहानामा उम्कन भने पाउँदैन । यस्ता प्रसंगमा उठ्ने सबै प्रकारका प्रश्नको जवाफ उसले दिनै पर्छ । समाधान पनि उसैले खोज्नु पर्छ ।

त्यसै सन्दर्भको अर्को मार्मिक प्रसंग हो, पश्चिम पहाड तथा मधेसका युवाहरुको भारत जाने नाकामा लाग्ने गरेको लामो लर्कोका बारेमा कान्तिपुर र अन्नपूर्ण पोष्टका लामा स्थलगत रिपोर्टिङ तथा तस्वीरको प्रस्तुति । लगातार निक्लिरहेका त्यस्ता शृंखला अझै रोकिएका छैनन् । हिजो उनीहरु रोगले परदेशमा मर्नुभन्दा आफ्नो देशमा भोकै बाँचौंला भनेर स्वदेश फर्केका थिए, आज भोकै मर्नुभन्दा नमरेसम्म अघाएर बाँच्नु राम्रो भन्दै उतै फर्किन थालेका हुन् । पोहोरसम्म भारतबाट दशैं मान्न नेपाल फर्केका लाहुरेका समाचार र तस्वीर छापिन्थ्यो, यसपालि ठीक उल्टो भएको छ । खाडीका कतिपय देशमा रहेका नेपालीले रोजगारी गुमाएपछि स्वदेश फर्किन सम्वन्धित देशका नेपाली दूतावास मार्फत दिएका लाहुरेहरुको लामो लिस्टका एक चौथाई पनि नेपाल फर्किन सकेका छैनन् । उनीहरु भोकै र प्यासै आफ्नो पालो पर्खेर बसेका छन् ।

हिजोसम्म नेपालीको यात्रा, सुस्त, शिथिल तथा गतिहीन अवश्य थियो तर, त्यसको दिशा सुल्टो थियो । अहिलेको विडम्वना के छ भने नेकपाको सरकारले दिशाबोध नै गर्न सकेन । हाम्रो सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना के देखाएको थियो, सुख र समृद्धि दुवै नेपालबाट सुँइकुच्चा ठोकेर भागेका छन् । वास्तवमा झण्डै दुई तिहाई बहुमतको सरकारले लगाएका ती नारा र देखाएको सपना, जनताले राम्ररी आत्मसात पनि गर्न पाएका थिएनन्, कोरोना भाइरसले उडाइदियो । अब त जनताका लागि ती नारा, उनीहरुमाथि सरकारले गरेको क्रुर एवं विभत्स व्यंगको प्रतिक बन्नपुगेको छ– न सरकारले पूरा गर्न सक्ने, न जनताले बिर्सन सक्ने !

जुन बेलासम्म सरकारले नेपालीका आँखामा समृद्ध नेपाल र सुखी नेपालीको त्यस्ता सपना रोपिदिन भ्याएको थिएन, त्यस बेलासम्म विदेशमा गएर नेपाली युवाहरुले आफ्नो पाखुराको श्रम बेचेर स्वदेशका परिवारका सदस्यहरुको सेवा–सुश्रुषामा भरथेग गर्ने गरिरहेका थिए । निश्चय पनि, भारतको श्रम बजारमा गएका उनीहरुका आर्जन परिवार धान्न पर्याप्त थिएन, सधैं पुगेस् पुगेस् हुन्थ्यो । तैपनि वर्षमा एक पल्ट बडादशैंमा लाहुरेहरु घर फर्कन्थे र परिवारका सबै सदस्यसंगै जुटेर सुख–दुःख साटासाट गर्ने क्रम निरन्तर चलिरहेकै थियो । थोरै भए पनि पुरानो सरसापट तिर्ने र नयाँ लुगाफाटा फेर्ने रहर सबैको पुग्ने गरेकै थियो । पहाडका हुन् अथवा तराईका किन नहुन्, लाहुरेका आमाबाबुको सपना हुन्थ्यो, छोराले कमाएको पैसाले पुरानो ऋण तिर्ने र एउटा नयाँ घर बनाउने । बुढाबुढीको त्यस्तो सपना पुरानो हुँदै गए पनि आँखाबाट ओझेल भने हुनपाएको थिएन । झन् केटाकेटी अवस्थादेखि नै गाँस, वास र कपासको नारा लगाउने कम्युनिष्टहरु सरकारमा आएका बेला लाहुरेका बाबुआमाले अब छोराले देशभित्रै काम पाउने, सानो ठूलो जस्तो भए पनि एउटा घर बनाउने र लुगा पनि फेरफार गरेर लगाउन पाइने भयो भनेर दंग पर्नु स्वभाविकै थियो । चीनबाट फैलेको कोरोना भारतमा व्यापक बन्नथालेपछि छोरो उताबाट घर फर्किंदा उनीहरुले पाथी भात खाएर खुशी मनाएका थिए ।

त्यही सपना र जपना अचानक उल्टियो । कोरोना लाग्ला भनेर त्यसबाट जोगिन उताको काम छाडेर जो स्वदेश फर्केका थिए, आफ्नो देशमा चार महिना कुर्दा पनि काम पाउन नसकेपछि त्यो महामारी झन् चर्किरहेका बेला भोकै मर्नुभन्दा रोगले मर्नु निको ठानेर पश्चिम पहाड र तराई दुवैतिरका तन्नेरीहरु लर्को लागेर भारततिर लाग्न थालेपछि उल्टो गंगा भन्ने उखानको अर्थ र मर्म के रहेछ, त्यो अहिले बुझ्न थालेका छन् । दशैंमा उताबाट घर आउने लाहुरेहरुको भीडलाग्ने ठाउँमा घर छाडेर परदेश लाग्नेहरुको भीड बढ्नथालेपछि समृद्धिको सपना व्यंग नलागोस् पनि किन ?

हाम्रो शास्त्रले भनेको छ– बुबुक्षितम किम नकरोति पापम् ? अर्थात् भोको पेट भएको व्यक्तिले अपराध गर्नु अस्वभाविक होइन ! दस नङ्ग्रा खियाउन तयार व्यक्तिले जब काम खोज्छ र भन्छ, जस्तोसुकै काम गर्न तयार छु, तैपनि काम पाउँदैन । त्यस्ता युवाहरु बेलुका जब रित्तो हात र भोको पेट लिएर घर फर्किन वाध्य हुन्छन्, तब उनीहरुको स्थिति कति विलक्षण हुनपुग्छ, त्यसको अनुभूति भुक्तभोगीलाई मात्र हुन्छ । आँखामा सपना, पाखुरामा बल र मनमा जोश र स्फूर्ति भएका युवाहरु जब आफ्नो श्रमशक्तिलाई उर्जामा परिणत गरेर धन आर्जनको माध्यम बनाउन पाउँदैनन्, तब उनीहरु आफ्नो भविष्य अन्धकार देख्न थाल्छन् । अपराधको जन्मस्थली भनेकै त्यही निरुपायपनको तिक्तता बोध हो । आफ्ना परिवारका सदस्यलाई राति विवश भएर भोकै सुतेको जसले देखेको छैन, त्यसका लागि यस्ता करुण कथाले छुन नसक्ला तर जसले भोकका पीडालाई झेलेको छ, त्यसका समक्ष विकल्प सीमित हुनपुग्छ । या त उसले त्यस्तो दारुण दृश्य हेरेर बाँच्नुभन्दा आत्महत्या रोज्नुप¥यो, या मुग्लानतिर भासिनु प¥यो । नैराष्यताले उत्पन्न गर्ने तेश्रो विकल्प विद्रोह हो । अहिले त्यसले संगठित बाटो र दुस्साहसी नेतृत्व पाएको छैन, त्यसैले सत्ताधारीहरु– कम्युनिष्ट र कांग्रेस दुवैका नेताले निद्रा गुमाउनु परेको छैन । तर त्यस्ता दिन आउन अब धेरै कुर्नुपर्ने छैन । ओडारका ढुंगामा त्यस्तो सन्देश कुँद्ने काम भइसकेको छ । त्यसलाई पढ्नेहरु त्यहाँ पुग्न मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्