Logo
Logo

प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, २१ असोज । भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो ।
गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनीमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिए । करिब १५ दिन आइसियु र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मंगलबार घर फर्किएका छन् । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ । अस्पतालले अन्य संक्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्