काठमाडौं, २८ असोज
मर्केन्टाइन कम्युनिकेशनका मालिक राजेश राजभण्डारीलाई करिब दुई महिनाअघि वीरगञ्जबाट फोन आयो–तपाईले पुख्र्याैली सम्पत्ति बेच्न लाग्नुभएको हो ? उनले होइन भने । तर, जग्गाकै बैना नै आफुलाई दिइसकेको भनेर एक व्यक्ति बारम्बार हेर्न आएको बताएपछि उनी झस्किए ।
आमाको नाममा वीरगञ्जमा उनको पुख्र्याैली जग्गा थियो । कसैले बैना दिएको बताएपछि उनी मालपोत कार्यालय गएर बुझे । त्यहाँ त जग्गा आमाको नामबाट मुकेश राजभण्डारीको नाममा गइसकेको खुल्यो । त्यसपछि जग्गा रोक्का राखेर उनले प्रहरीमा उजुरी गरे । दुई महिना लामो अनुसन्धानछि सिआईबीले यसको रहस्य पत्ता लगाएको छ । ललितपुरका केवलप्रतापजंग राणाले कमला राजभण्डारीको नाममा रहेको जग्गा उनको छोरा बनेर नामसारी गराएका हुन् । राणालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
नक्कली कागजपत्रकै आधारमा राणाले मालपोत कार्यालयका कर्मचारीको सहयोगमा सो घरजग्गा आफ्नो नाममा ल्याएका हुन् ।
उनले आफू कमलादेवीको छोरा मुकेश राजभण्डारी भएको भदै त्यही नामबाट नक्कली नागरिकतालगायतका विविध कागजपत्र मालपोत कार्यालयमा पेस गरेर जग्गाको नामसारी गरेका हुन् । वीरगन्ज महानगरपालिका– ५ स्थित पाँच कट्ठा १५ धुर नौ कन्चा जग्गा, त्यसमा बनेको घर आफ्नो नाममा ल्याएका थिए । गत ११ फागुनमा मालपोत कार्यालयले चलखेलका आधारमा जग्गा उनको नाममा राजीनामा पास गरिदिएको हो । यसमा मालपोतका कर्मचारीमाथि समेत छानबिन गर्ने प्रहरी तयारी छ ।
राणाले सो जग्गा बिक्रीका लागि एकातर्फ बीस ५० लाख बैना लिइसकेका थिए भने अर्काेतर्फ बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाएका थिए । मुख्य बजारमा रहेको सो घरजग्गा राजभण्डारी परिवारको पुख्र्याैली जग्गा हो । उनीहरू हाल त्यहाँ नबस्ने भएकाले राणाले नक्कली कागजपत्र बनाएर ठगी प्रयास गरेका हुन् । करिब दुई महिना लामो अनुसन्धानपछि राणालाई पक्राउ गर्न सफल भइएको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए ।
पक्राउ परेपछि राणाले अपराध स्विकारेका छन् । यसमा आफूबाहेक अरू व्यक्तिहरूसमेत रहेको उनले बताएका छन् । पक्राउ परेका राणामाथि ठगी मुद्दामा कारबाही गर्न प्रहरीले पर्सा पठाएको छ । ललितपुरमा उनीविरुद्ध किर्ते मुद्दा चलाउने प्रहरी तयारी छ ।
राणाले सो जग्गा आफ्नो नाममा ल्याउन नागरिकतासहित १२ वटा नक्कली सरकारी कागजपत्र बनाएको सिआइबीले जनाएको छ । जग्गा नामसारीका लागि ललितपुर महानगरपालिका– ३ बाट जारी भएको सनाखतसहितको सिफारिसपत्र, नाता प्रमाणित प्रमाणपत्र, जग्गाधनी कमला राजभण्डारी र उनका श्रीमान् गोपाल राजभण्डारीको मृत्युको प्रमाणपत्र बनाएका थिए । कमलादेवीका तीन छोराको नाममा नक्कली नागरिकता, नेपाली दूतावास अस्ट्रेलियाको नामको मञ्जुरीनामाको पत्र, नक्कली प्रेस कार्ड बनाएका थिए । कमलादेवीका एक छोरा अस्ट्रेलियामा भएकाले दूतावासबाट प्रमाणित भएको मञ्जुरीनामाको पत्रसमेत पेस गरेका थिए । जसअनुसार जग्गाधानीको बारेमा विस्तृत सूचना संकलन गरेर उनले ठगी योजना बनाएको हुन सक्ने सिआइबीका एसपी बेलबहादुर पाण्डे बताउँछन् ।
सो जग्गा एनआइसी एसिया बैंकमा धितो राखेर २० करोड कर्जा लिने प्रक्रियासमेत राणाले अघि बढाइसकेका थिए । त्यसका लागि गंगा ट्रेडर्स नामक कम्पनी दर्ता गरिएको थियो ।
राणा यस्तो अपराधमा पक्राउ परेको पहिलोपटक होइन । ०७० सालमा उनलाई सिआइबीले नै पक्राउ गरेको छ । क्रेडिट कार्ड ठगी प्रकरणमा उनी त्यसवेला पक्राउ परेकोमा ललितपुरमा मुद्दा चलेको थियो । ०७३ सालमा बैंकिङ कसुर मुद्दामा काठमाडौं प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको थियो । त्यस्तै, गत वर्ष जेठमा दरबारमार्ग वृत्तले उनलाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो ।
उनका परिवार अमेरिकामा छन् । उनी पनि अमेरिका गएकोमा एक अमेरिकी नागरिकलाई छुरा हानेको घटनामा जेल बसी नेपाल फर्किएका हुन् । उनको ग्रिनकार्ड १० वर्षलाई रद्द गरी नेपाल निष्कासन गरिएको अनुसन्धानमा खुलेको छ । नेपालमा आएपछि उनले शृंखलाबद्ध रूपमा ठगी गरेको प्रहरीले जनाएको छ ।