काठमाडौं, २ कात्तिक ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले ११ वर्षअघिको हत्याकाण्ड सुल्झाएको छ । ललितपुरको झरुवारासीमा २०६६ साल बैशाख २८ गते भएको हत्याका अभियुक्त पक्राउ परेका हुन् । आरएम ईटा भट्टामा काम गर्ने डिलबहादुर योञ्जनलाई हत्या गर्ने पत्ता लगाई सिआईबीले भारतबाट पक्राउ गरी ल्याएको हो ।
सोही भट्टामा काम गर्ने भिमसेन मगर र रामकृष्ण मगरले हत्या गरेका थिए । हत्यापछि भारत छिरेर लुक्दै आएका उनीहरुलाई सिआईबीले दिल्लीबाट पक्राउ गरी ल्याएको हो । दुवैलाई सातदोबाटो वृत्तमा पठाइएको सिआईबीका एसपी बेलबहादुर पाण्डेले बताए । सामान्य विषय झगडा हुँदा उनीहरुले हत्या गरेका थिए ।
दुबै अभियूक्तहरू घटना घटाए पश्चात उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो बास्तबिक परिचय समेत परिवर्तन गरी भारतिय आधार कार्ड समेत बनाई बसेका थिए । रामकृष्ण चुनी मगर प्लाष्टिक कारखानामा काम गर्ने र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको र मामा भान्जा नाता पर्ने निजहरू दुबै जनाले आफ्नो श्रीमती र छोराछोरीहरू समेत उतै लगी राखी बसी आएको खुलेको छ । ११ वर्षसम्म लुकेपनि अन्ततः उनीहरु प्रहरी फन्दामा परेका छन् ।