धनगढी, ३ कात्तिक ।
कैलालीका प्रहरी सहायक निरीक्षक(असइ)को हत्या घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को टोली समेत खटिएको छ । धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टबाट गस्तीमा गएका असई गोविन्द विकको शनिबार राती घाँटी रेटी हत्या भएको थियो । उनीसँगै डिउटीमा गएका प्रहरी जवान बेपत्ता छन् । घटनाको गम्भीरताका आधारमा अनुसन्धानमा सिआईबीका प्रहरी खटिएका हुन् ।
असई विकको शव नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो । उनीसँगै मोटरसाइकलमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । प्रारम्भिक अनुसन्धानमा तस्कर समूहले हत्या गरेको प्रहरी आशंका छ । अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएपनि हालसम्म केही तथ्य फेला परेको छैन ।
अनुसन्धानका लागि सिआईबीबाट समेत प्रहरी टोली खटिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी मुकेश सिंहले बताए । असई विकले सीमा क्षेत्रमा हुने तस्करीविरुद्ध कडाई गरेपछि तस्करहरु रिसाएका थिए । सोही कारण उनको हत्या भएको आशंका गरिएको छ ।
घटनास्थलमा सुदुरपश्चिम प्रदेशका डिआईजी उत्तमराज सुवेदी आफैं खटिएका छन् ।