काठमाडौं, ६ कार्तिक । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिए । तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा÷मासु पसल, १९ ग्यास सिलिण्डर उद्योग, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी पसल र १०३ अन्य फर्म छन् ।
अनुगमनका क्रममा नापतौल यन्त्र बिक्रीस्थलमा नराखेको, नापतौलसम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेकोलगायत कैफियत भेटिएको थियो । महानिर्देशक पुडासैनीले पाँचवटा फर्मलाई जिल्ला अदालतमा अभियोग दायर गरिएको बताउनुभयो । अभियोग दायर गरिएकामा गोरखकाली ग्यास सेन्टर ढुङ्गेधारा, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर मानभवन, एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्सा छन् ।
स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को दफा २५ अनुरुप नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएका फर्ममाथिको कारबाहीलाई तीव्र बनाइएको विभागले जनाएको छ ।