काठमाडौं, १३ कात्तिक ।
सत्तारुढ नेकपाभित्र विवादका विषय बढ्दै गएका छन्, तर दुई अध्यक्षबीच संवाद भने घट्दै गएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच संवाद रोकिएपछि पार्टीभित्र समस्या बढ्ने जोखिम देखिएको छ ।
दुई अध्यक्षबीचको तिक्तताका कारण एक महिनाका लागि केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि ओली–प्रचण्डबीच नौ दिनदेखि संवाद भएको छैन । उनीहरूबीच ४ कात्तिकदेखि छलफल हुन सकेको छैन ।
ओली र प्रचण्डबीचको संवादहीनताकै बीचमा १५ देखि १७ कात्तिकमा डाकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक एक महिना पछि सरेको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण बैठक सारिएको भनिए पनि त्यस विषयमा ओली र प्रचण्डबीच कुनै छलफल भएको छैन । दुई अध्यक्ष छलफलमा नबसेपछि महासचिव पौडेलले बुधबार बिहान खुमलटारस्थित निवासमा पुगेर प्रचण्डसँग परामर्श गरेका थिए ।
प्रचण्डले बैठक सार्ने कुरामा सहमति जनाएपछि महासचिव पौडेलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग थप परामर्श गरेर बैठक स्थगनको सूचना जारी गर्न केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकाललाई निर्देशन दिएका थिए । महासचिव पौडेलको निर्देशनलगत्तै उनीहरूले कोभिड– १९ को महामारीको बढ्दो प्रकोपका कारण बैठक एक महिना पछि सारिएको जानकारी गराएका छन् ।
‘कात्तिक १५ देखि १७ सम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड– १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही मंसिर १५ देखि १७ सम्म आयोजना गरिनेछ,’ रिजाल र ढकालको विज्ञप्तिमा छ । गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले आगामी २५ देखि २७ चैतसम्म हुने महाधिवेशन तयारीबारे छलफल गर्न १५ देखि १७ कात्तिकसम्म काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
कर्णाली प्रदेश तर पर्सा घटनाको कारण पछिल्लो समय विवाद बढेको छ ।