काठमाडौं, १४ कात्तिक ।
गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीको सरुवाको तयारी थालेको छ । एसएसपीहरु पनि दौडधुपमा लागेका छन् ।
एक वर्ष कार्यकाल पुगेका महानगरीय ट्राफिक प्रहरी महाशाखा, ललितपुर परिसर, अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रदेश तालिम केन्द्रका इन्चार्जहरुको जिम्मेवारी हेरफेर हुन लागेको छ । जसमध्ये ट्राफिक महशाखा र ललितपुर परिसरका लागि धेरै एसएसपीहरुको सिफारिस आएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
ललितपुर परिसरमा स्वभाविक रुपमा एसएसपी किरण बज्राचार्यको सम्भावना छ । एसएसपीमा उनले अहिलेसम्म इन्चार्ज पाएकी छैनन् । ट्राफिक महाशाखामा उमेशराज जोशीलाई दिनुपर्नेबारे प्रहरी नेतृत्वमा छलफल भएको छ । ब्याचमा अग्रणी भएर पनि उनले महत्वपूर्ण जिम्मेवारी पाएका छैनन् ।
डिआईजीमा बढुवा गरेर एसएसपीको सरुवा गर्ने प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको योजना छ । तर, बढुवा प्रक्रिया लम्बिए त्यसअघि नै सरुवाको तयारी भइरहेको छ ।