Logo
Logo

चितवनमा १३ जिल्लाका ११६ संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता

315
Shares

चितवन, १८ कात्तिक । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरूमा अन्य जिल्लाबाट समेत संक्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १०७ शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

गणका अनुसार मृत्यु भएकाहरूमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का रहेका छन् । सो जिल्लाका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

जिल्लामा हालसम्म पाँच हजार ९२३ संक्रमित भएका छन् । तीमध्ये ६४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ । देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ । देशभरको कुल संक्रमणबाट मृत्यु भएकाको संख्या ९८४ रहेको छ । तीमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो । नेपालमा मृत्यु भएकाहरूको हिसाबले चितवनमा मृत्यु भएकाहरूको प्रतिशत १२.०८ हुन आउँछ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु संख्या बढी हुन आएको बताए । यहाँको संघीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत संक्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो संख्यामा कोरोना संक्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरू जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु संख्या बढी भएको बताउँछन् । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ ।

जिल्लाका अस्पतालहरूले ठूलो संख्यामा संक्रमितको सफल उपचार गरी निको पार्न सफल भएको तिवारी बताउँछन् । कोरोना रोग नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरूको बीचमा भएको समन्वयका कारण सहज बनेको तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्