काठमाडौं, १९ कात्तिक ।
सत्तारुढ नेकपाभित्र विवाद बढ्दा संसदीय दलको समिकरणबारे चर्चा सुरु भएको छ । प्रचण्ड र माधव नेपाली समूह एक भए संसदीय दलमा ओली अल्पमतमा पर्नसक्छन्, त्यो अवस्थामा उनी प्रधानमन्त्रीबाट हट्नुपर्ने हुनसक्छ ।
प्रचण्ड–नेपाल समूहले पार्टीका साथै संसदीय दलमा पनि बहुमत रहेको दाबी गर्दै आएको छ । ओली पक्षले पनि बहुमत रहेको दाबी गर्दै आएको छ । विवाद बढ्दै गएमा ओलीले दलको नेतामा अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने हुन सक्छ । सभामुखबाहेक नेकपाका अहिले एक सय ७३ सांसद छन् । तर संसदीय दलको नेताका रूपमा पद जोगाउन ओलीलाई ८७ सांसद आवश्यक पर्छ । पूर्वमाओवादी समूहका ५५ र नेपाल समूहमा ४३ जना सांसद रहेको भनिएकाले ओलीलाई बहुमत जुटाउन कठिन हुने अवस्था छ । अविश्वासकै प्रस्ताव अघि बढेमा सांसद किनबेचका काम समेत हुनसक्ने आशंका गर्न थालिएको छ ।
माधव नेपाल फकाउन टिम परिचालन
प्रचण्डसँग विवाद बढ्दै गएपछि ओली पक्ष माधव नेपाल समूहलाई हात लिने तयारीमा छ । गत १४ गते भएको छलफलमा ओलीले पार्टी अलग अलग गरेर जाने समेतको प्रस्ताव गरेपछि विवाद चर्किएको छ । त्यसयता दुई नेताबीच छलफल हुन सकेको छैन । त्यसपछि दुवै अध्यक्ष माधव नेपाललाई फकाउन लागिपरेका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले ईश्वर पोखरेल नेतृत्वको टिम परिचालन गरिएको छ । साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत पनि यसमा सक्रिय छन् । माधव नेपाल पक्षलाई फकाउने उनीहरुले केही दिनअघि नेता प्रदीप नेपालको साथ मागेका थिए ।