काठमाडौँ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शोक वक्तव्यमार्फत् पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराकी जीवनसंगीनी कमरेड सीता महराको असामयिक निधनले मर्माहत भएको बताएका बताउनुभएको छ । उहाँको नर्भिक हस्पिटलमा आज बिहान ६ः२५ बजे निधन भएको हो । दिवंगत कमरेड सीता महरा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।
पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला कमरेड सीतालाई स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १३ गते दाङस्थित गोरखा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
‘असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।