काठमाडौं, १९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गर्नु भएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी सञ्चारमाध्यमहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । मंगलबार सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रीय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उहाँले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व सञ्चारमाध्यामहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराउनुभयो । ‘जनतालाई सही सूचना दिने दायित्व सञ्चारमाध्यमको हो’, मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि सरकारी सञ्चारमाध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’
सञ्चारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थानजस्ता सरकारी सञ्चारमाध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले सञ्चालन गर्ने योजना पनि अघि सार्नुभयो । त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङको भनाइ छ । मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न पनि सञ्चारमाध्यामलाई आह्वान गर्नुभयो । उहाँले सरकारी सञ्चारमाध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अब त्यसो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सञ्चार मन्त्रालय सम्हाल्नुभएका मन्त्री गुरुङले पहिलोपटक नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको छुट्टाछुट्टै अनुगमन गर्नुभएको हो । त्यस क्रममा उहाँलाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले आ–आफनो कार्यालयमा स्वागत गर्नुभएको थियो ।