न्यूयोर्क, १९ कार्तिक (एजेन्सी) । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेन जीत नजिक पुगेका छन् । बुधबार सम्पन्न निर्वाचनको नतिजा आउनेक्रम जारी छ । तर, बाइडेन डोनाल्ट ट्रम्पभन्दा निकै अगाडि छन् । बाइडेनले पनि आफू विजयी दिशातर्फ गइरहेको विश्वास बताएका छन् ।
पछिल्लो मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ । डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले भने, ‘हामीलाई थाहा थियो यो लामो हुनेछ । सायद भोलि बिहान या त्योभन्दा बढी । हामी जहाँ छौँ हामी खुसी छौँ । हामीलाई विश्वास छ हामी यो निर्वाचन जित्ने दिशामा छौँ ।’
पछिल्लो परिणामअनुसार बाइडेनको पक्षमा २ सय १९ र ट्रम्पको पक्षमा १ सय ६५ इलेक्टोरेल मत छ । यद्यपी, रिपब्लिकन पार्टीको पकड रहेका धेरै राज्यमा मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ । यस्तोमा, २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यको परिणाम ट्रम्पका लागि निर्णायक रहने अनुमान गरिएको छ ।