काठमाडौं, २० कात्तिक ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट उम्मेदार जोसेफ बाइडन जितको नजिक पुगेका छन् । उनले दुई सय ६४ इलेक्ट्रोरल मत प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । जितका लागि दुई सय ७० मतको आवश्यक हुन्छ ।
बाइडनले मिसिगन र विसकोन्सिन राज्यमा विजय हात पारेपछि उनी जितको नजिक पुगेका हुन् । यी दुवै राज्यलाई ‘स्वीङ स्टेट’ भनिन्छ, जहाँ हरेक निर्वाचनमा फरक फरक नतिजा आउने गरेको छ ।
बाइडनका सल्लाहकारहरुले उनको जित सुनिश्चित भएको बताएका छन् । यद्यपी पेन्सलभेनिया तथा जर्जिया लगायत केही महत्वपूर्ण राज्यमा गणना जारी छ । दुवै राज्यमा हाल ट्रम्पले अग्रता कायम राखेपनि बाइडनले दुरी घटाउँदै गएका छन् ।
उता हार्ने संकेत देखिएपछि ट्रम्पले मतदान रोक्न माग राखी अदालतमा मुद्दा हालेका छन् । मतपत्रमा धाँधली भएको आरोप उनका समर्थकले लगाउन थालेका छन् ।