काठमाडौं, २१ कात्तिक ।
नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले भने– हामी पार्टी एकताका लागि जुटेका हौँ, नेकपा फुटाउने सपना नदेखे हुन्छ, यो एकता त्यति कमजोर धरातलमा छैन । ओलीले पार्टी अलग गरेर जाने प्रस्ताव गरेपछि उनले नेकपा फुट्ने आशंका भइरहेका बेला नेता नेपालको यस्तो भनाई आएको हो ।
प्रधानमन्त्री केपी ओलीसँग विवाद बढ्दै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाएको अनौपचारिक बैठकमा सचिवालयका नौमध्ये पाँचजना अर्थात् बहुमत सदस्य सहभागी थिए । करिब एक घन्टाको अनौपचारिक बैठकमा प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए ।
अनौपचारिक बैठकले ओलीलाई सामूहिक भेटमार्फत केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।