काठमाडौँ, २२ कात्तिक ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड लगायत नेताहरुसँग रिसाएका छन् । शनिबार उनलाई भेट्न बालुवाटार गएका नेताहरुसँग आफूविरुद्ध गुटबन्दी र मोर्चाबन्दी गरेको भन्दै ओली रिसाएका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउने क्रममा उनले बैठक नबोलाउने घुर्की लगाएका छन् । आफुविरुद्ध गुटबन्दी भएको भन्दै उनले बैठक बोलाउन नमानेका हुन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।
प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।
तर, पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद भएको थियो । ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको बालुवाटार स्रोत बताउँछ ।
पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफलसमेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन माग गर्दै पत्र लेख्ने निर्णय भएको थियो । पत्रअनुसार बैठक बोलाउन ओली तयार नभए औपचारिक बैठकको तयारीमा लाग्ने सचिवालयका बहुमत सदस्यहरुको तयारी छ ।