काठमाडौं, २६ कात्तिक ।
नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई हुने भएको छ । सो मुद्धाको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा हुँदैछ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
यसअघि न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै रोकिएको रिटको सुनुवाई बुधबारका लागि तोकिएको हो । यसअघि चाडपर्वको बिदाका कारण सो रिटमा थप सुनुवाइ हुन सकेकाे थिएन ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अशोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाई सुरु भएको थियो। त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बसह गरेपछि ‘हेर्दाहेर्दै’ राखिएको रिटमाथि सुनुवाई हुन सकेको थिएन ।
प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अशोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।
निवेदकले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनितको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरीत भएको जिकिर गरेका छन्।