काठमाडौँ, ११ मंसिर ।
नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव हर्गाबर्धन श्रृङगला र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतले कूटनीतिक वार्ताकै माध्यमबाट सीमालगायतका सम्पूर्ण समस्याको समाधान गरेर जान सक्ने बताएका छन् ।
बालुवाटारमा ओली र शृङगलाबीच भेटवार्ता भएको हो । भेटमा ओलीले वार्ताकै माध्यमबाट विभिन्न विषयहरुमा देखिएको समस्या समाधान गर्न सकिने विश्वास दुई मुलुक बीचमा रहेको प्रस्ट पारेका हुन् । ‘उहाँ (प्रधानमन्त्री ओली)ले नेपाल र भारतका बीचमा समाधान गर्न सकिने विषयहरु रहेको बताउनु भयो । हामी बस्यौं भने वार्ताकै माध्यमद्वारा यी विषयहरुलाई समाधान गरेर जान सक्छौं । यो विश्वास हाम्रो बीचमा रहेको छ,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने ।
प्रधानमन्त्री ओलीलाई भेट्न विदेश सचिव श्रृंगला बिहीबार बेलुकी साढे ५ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीलाई सुरुवातमा सचिव श्रृंगलाले भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देश सुनाएका थिए । मोदीले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । ‘साथै, मोदीजीले नेपाल–भारत सम्बन्धलाई अब नयाँ हिसाबले अगाडि बढाएर लानु पर्छ भन्ने सन्देश पठाउनु भएको रहेछ । त्यो सन्देश पनि सचिवजीले दिनु भयो,’ भट्टराईले भने ।