Logo
Logo

‘जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न किन डराउने ?’


- दृष्टि न्युज/संवाददाता

126
Shares

चितवन, १४ मंसिर । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकमा मन्त्री ढुंगेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताए ।
युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुंगेलले भने, ‘एउटा हातमा राजनीतिक झण्डा र अर्काे हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।’ उद्यम गर्ने युवाहरुका लागि प्रदेश सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बताउँदै मन्त्री ढुंगेलले भने, ‘काम सानो ठूलो नभनी उत्पादनमा जोडिनुहोस् । प्रदेश सरकार सहयोग गर्न तयार छ ।’
कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै उनले प्रश्न गरे, ‘जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न किन डराउने ? लोकतन्त्रमा यो विषयमा बोल्न पाइन्छ ।’
सो अवसरमा १०१ सदस्यीय मदन भण्डारी फाउण्डेन कालिका नगर कमिटी र १०१ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी घोषणा गरिएको थियो । मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहेका छन् । समितिका उपाध्यक्षमा लक्ष्मण पौडेल, भोजराम थपलिया र ज्योति सुनार रहनुभएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ मरहठ्ठा चयन भएका छन् ।
यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीका अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नवीन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज कामना गुरुङ, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिम्खडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्