Logo
Logo

देउवालाई अल्मल्याउँदै ओली


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, १६ मंसिर । कांग्रेसका नेताहरुका अनुसार पार्टीसभापति शेरबहादुर देउवामा पार्टीलाई पुनर्जीवन दिने आँट, जाँगर, शक्ति छैन । उहाँको सम्पूर्ण ध्यान सालाहरुमार्फत ब्यापार गराउने र त्यसको कमिशन खानेमा छ । त्यसैले उहाँ सरकारसंग कुनै विरोध गर्न सक्नुहुन्न । देउवाको यो कमजोरी थाहा पाउनुभएका प्रधानमन्त्री ओलीले उहाँलाई गज्जबसंग काबुमा राख्नुभएको छ । एनसेल, बाइडबडी, न्यारोबडी, यति होल्डिड., सुन काण्डजस्ता ठूला भ्रष्टाचार प्रकरणमा देउवाको बोल्ने मुख बन्द गरिदिनुभएको छ । पद, पैसाका आशक्त कांग्रेस सभापतिको सासु तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य प्रतिभा राणालाई जापानको राजदूतमा यथावत कायम राखेर उहाँले देउवालाई लगाम लगाउनुभएको छ ।

पद र पैसाका लोभी कांग्रेस सभापति देउवालाई कहिले पार्टी फुटेपछि तपाई हामी मिलेर सरकार बनाउला भनेर ओलीले फुस्ल्याएर पठाउनुहुन्छ कहिले अख्तियार र संवैधानिक आयोगहरुमा तपाईलाई कति सीट चाहियो भनेर अल्मल्याउनुहुन्छ ? नेपालमा राणा शासन हटाउने २००७ सालका क्रान्ति गरेको, २०१५ सालको निर्वाचनमा दुई तिहाई सीट जितेको, साढे सात दशक आफ्नो विचार र सिद्धान्त अनुरुपको राजनीतिक व्यवस्था स्थापनाको लागि बलिदान गरेको राजनीतिक दलको दुर्गति यहाँभन्दा कति हुनु ?

२०७४ सालको स्थानीय,प्रदेश र संघीय संसदको निर्वाचनमा नराम्रोसंग पराजित भएको नेपाली कांग्रेसका लागि पार्टीको संगठन मजवूत बनाएर आउने निर्वाचन जित्ने महत्वपूर्ण अवसर उपस्थित थियो । तर नेपाली कांग्रेसले त्यसलाई पनि उपयोग गर्न सकेन । संघीय संरचना अनुरुप पार्टी संरचना बनाउनै यसले लामो समय लगायो । निर्धारित समयमा पार्टी महाधिवेशन भएको भए गत बर्ष नै यसले नयाँ नेतृत्व पाउने थियो तर त्यो समय पनि घर्काइयो । थप गरिएको एक बर्ष सकिने बेलासम्म पार्टीको १४ औं महाधिवेशन हुने कुनै छाँटकाँट देखिदैन । लोकतन्त्रको हिमायती दावी गर्ने कांग्रेसले कोरोना भाइरसको संक्रमण र लकडाउनका बीचमा अमेरिकामा प्राइमरी र राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको र छिमेकी मित्रराष्ट्र भारतको बिहारमा विधानसभा निर्वाचन र अन्य ११ राज्यमा उपनिर्वाचन हुँदा पार्टीका प्रतिनिधिहरुमात्र उपस्थित हुने महाधिवेशनका कार्यक्रमसम्म चलाउन सकेको छैन् । यथावस्थामा यो पार्टीको पुनरुत्थानको कुनै संभावना देखिदैन् । तर पनि सिंगो पार्टी मौन छ ।

जनताको हातमा आएको शासन दुई पटक राजालाई बुझाउने जस्तो जनविरोधी प्रतिगमनकारी कदमका मतियार बन्नुभएका कांग्रेस सभापतिको सुनियोजित मौनता र निस्क्रियताले देशमा संवैधानिक संकट निम्त्याउने आशंका पनि पैदा भएको छ । कांग्रेसभित्र हिन्दु राज्य कायम गर्न पर्ने, राजतन्त्र स्थापित गर्नुपर्ने जस्ता मागहरु पनि उठिरहेका छन् । कांग्रेस सभापति कुन कित्तामा हुनुहुन्छ, उहाँको गतिविधि र निस्क्रियता रहस्यमय छन् । मान्छेहरु भन्न थालेका छन्, कतै कांग्रेस सभापति देउवा लोकतन्त्र बुझाउने कार्यमा मतियार बन्नेमा ह्याट्रिक त गर्दै हुनुहुन्न ? कांग्रेस सभापति देउवाको निस्क्रियताबाट दिक्क भएका कार्यकर्ताहरु त बिशेष महाधिवेशन बोलाएर उहाँलाई नेतृत्वबाट हटाएर आयोजक समितिमार्फत पार्टीको १४ औं अधिवेशन गरेमा त्यो छिटो हुने र हालसम्मका राजनीतिक उपलब्धिलाई संस्थागत गर्न त्यसले सघाउने तर्क पनि गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्