Logo
Logo

१० प्रतिशत सुरक्षाकर्मीले मात्र जोखिम भत्ता पाउने


- दृष्टि न्युज/संवाददाता

6.7k
Shares

काठमाडौं, १७ मंसिर
कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थानमा खटिएका अधिकतम १० प्रतिशत सुरक्षाकर्मीले मात्र जोखिम भत्ता पाउने भएका छन् । बन्दाबन्दीको करिब आठ महिनापछि प्रत्यक्ष रुपमा फ्रन्टलाइनमा खटिएकालाई भत्ता दिन अर्थ मन्त्रालय तयार भएको छ । तर, थोरैले मात्र पाउने भएपछि कसरी दिने भन्नेमा प्रहरीमा समस्या देखिएको छ ।


अर्थले सुरक्षा निकायसँग अंग्रपंक्तिमा खटिएका कर्मचारीको विवरण माग गरेको छ । नेपाल प्रहरीले कार्यरत प्रहरीको अधिकतम १० प्रतिशत प्रहरीको नाम सिफारिस गर्न आइतबार देशभरीका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार १६ चैतदेखि ६ साउनसम्म लकडाउनको अवधिमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई भत्ता दिइने परिपत्रमा उल्लेख छ ।

गत ८ मंसिरमा राजपत्रमा प्रकाशित ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धि मादपण्ड २०७७’मा अधिकतम १० प्रतिशत सुरक्षाकर्मीलाई जोखिम भत्ता दिइने उल्लेख छ । मापदण्डमा भनिएको छ,‘…तर कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीमध्ये कार्यरत संख्याको १० प्रतिशत नबढ्ने गरी २०७६ चैत १६ गतेदेखि बन्दाबन्दी कायम भएको अवधि अर्थात् २०७७ साल श्रावण ६ गतेसम्मको प्रोत्साहन रकम नेपाल सरकारको २०७६ चैत १६ गतेको निर्णयअनुसार खटिएका सुरक्षाकर्मीको जोखिम वर्गीकरणसहितको अभिलेख सम्बन्धित सुरक्षा निकायबाट प्रमाणित गरी प्राप्त भएपछि अर्थ मन्त्रालयले स्रोतको उपलब्धताको आधारमा निकासा दिन बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ । सोहीअनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अंग्रपंक्तिमा खटिएका कर्मचारीको विवरण संकलन अघि बढाएका छन् ।

यसअघि पनि विवरण तीनै वटा सुरक्षाकर्मीले पठाएकोमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको देखाएपछि अर्थ मन्त्रालयले भत्ता दिन नसकिने जनाएको थियो । यसपटक भने मापदण्डमै १० प्रतिशत तोकेर पठाइएको छ । १० प्रतिशतभन्दा धेरै सुरक्षाकर्मी अंग्रपंक्तिमा खटिएकाले १० प्रतिशत छान्न समस्या भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले तीन प्रकारको भत्ता पाउनेछन् । प्यासेन्ट रिसिभिङ टिम तथा पीपीई लगाएर काम गर्ने सुरक्षाकर्मीलाई सुरु तलबमानको शतप्रतिशत भत्ता पाउनेछन् । पीपीई लगाउनु नपर्ने, पेसेन्ट रिसिभि टिममा खटिई सहयोग गर्ने र क्वारेन्टाइनको व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीलाई सुरु तलबमानको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।

त्यस्तै, बन्दाबन्दीमा अंग्रपंक्तिमै खटिएका अन्य सुरक्षाकर्मीले प्रतिदिन तीन सय खाजा खर्च पाउनेछन् । यसरी खटिने सुरक्षाकर्मी धेरै भएपनि १० प्रतिशतले मात्र पाउने भएपछि यसले सुरक्षा निकायभित्रै असन्तुष्टि बढ्ने जोखिम देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । नेपाल प्रहरीले २१ मंसिरभित्र यससम्बन्धि विवरण पठाउन सबै कार्यालयलाई परिपत्र गरेको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीले पनि गृहकार्य अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्