Logo
Logo

११ लाख घुसकाण्ड कहाँ पुग्यो ?


- दृष्टि न्युज/संवाददाता

2k
Shares

काठमाडौं, २३ मंसिर । गत ८ असोजमा महाकाली सिंचाई आयोजना, कंचनपुरका कायम मुकायम आयोजना निर्देशक प्रचण्ड देव बिष्ट ११ लाख रुपैयाँसहित सुन्धाराको होटलबाट पक्राउ परे । मदिरामा लठ्ठ अवस्थामा पक्राउ परेका विष्टले सो पैसा सिंचाई विभाग र सिंचाई मन्त्रालयमा बुझाउन ल्याएको बताए । प्रहरीले उनको त्यो भिडियो पनि खिच्यो ।

यो घटनाले सिंचाई मन्त्रालयसम्म हंगामा भयो । उच्च अधिकारीहरु समेत तानिन सक्ने आँकलन गरियो । तर, साढे दुई महिना हुँदा पनि अख्तियारले यो प्रकरण टुंग्याउन सकेको छैन । बरु विष्टलाई धरौटीमा छाडेर उनलाई चलखेल गर्ने मौका दिएको छ ।

प्रारम्भिक सोधपुछमा विष्टले सो पैसा जलस्रोत तथा सिचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीलाई दिन ल्याएको बताएका थिए । स्रोतका अनुसार गत वर्षको भुक्तानीको एकमुष्ठ कमिसन रकम बोकेर उनी आएका थिए ।

अख्तियारको बयानमा भने उनले सो पैसा लेनदेनको भएको दाबी गरेका छन् । तर, कोसँग लिएको भन्ने प्रमाणित गर्न सकेका छैनन् । अख्तियारबाट उनले माथिल्ला हाकिमलाई पनि जोगाउने प्रयास गरेका छन् । जसकारण अख्तियारको छानबिन पनि अलमलमा परेको छ । सिंचाई मन्त्रालयबाट अख्तियारमा समेत सो घटनाको छानबिनमा दबाब दिइएको स्रोत बताउँछ ।

स्टिङ अप्रेसनका घटनामा सामान्यतया एक महिनामै अनुसन्धान सकेर आयोगले मुद्दा दायर गर्छ । तर, यो घटनामा भने अझै मुद्दा दायर नहुनुले आशंका बढेको छ । त्यसमाथि अख्तियार निमित्तको भरमा चलेको छ । सत्तारुढ दल नेकपामा विवाद बढ्दै गएपछि अख्तियारमा प्रमुख आयुक्त र आयुक्तहरु नियुक्ति हुन सकेको छैन । अहिले अख्तियारमा निमित्त प्रमुख गणेशराज जोशी र आयुक्त सावित्री गुरुङ मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्