काठमाडौं, २३ मंसिर । जागिर लम्बाउन लागिपरेका सशस्त्र प्रहरीका पाँच डिआईजी अन्नतः निराश भएका छन् । अदालतदेखि गृहमन्त्रालय समेतले उनीहरुको विपक्षमा निर्णय दिएका छन् ।
सेनामा तालिम सकेपछि मात्र तलब आउने र त्यसपछिको अवधिलाई मात्र जागिर अवधि मान्ने भएकाले डेढ वर्ष जागिर अवधि बाँकी नै रहेको दाबीसहित उनीहरुले अदालतमा रिट तथा गृह मन्त्रालयमा निवेदन दिएका थिए । तर, अदालतले अन्तरिम आदेश दिएन । गृहले पनि उनीहरुको विपक्षमा निर्णय गरेको छ । भर्ना भएलगत्तै सुरुमै नियुक्ति पत्र भनेरै दिनेभएकाले २७ मंसिरमा उनीहरुको ३० वर्षे सेवाहद पुग्ने र सोही दिन अवकाश पाउनेछन् ।
डिआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले यसरी अवकाश पाउन लागेका हुन् ।
उनीहरुको अवकाशलगत्तै डिआईजीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । बढुवाको दौडधुपमा एसएसपीहरु अभि खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज छन् । उनीहरुमध्ये एक पछि आईजिपीको दाबेदार समेत हुने सम्भावना भएकाले यो बढुवामा ठूलो चलखेल छ । बढुवामा पर्न मात्र होइन पहिलो नम्बरमा डिआईजी बन्न चलखेल सुरु भएको छ । सशस्त्रमा यसअघि नै डिआईजीका तीन दरबन्दी रिक्त हुँदैछन् । त्यस्तै, पुसबाट एआईजी पनि दुई जना मात्र हुनेछन् । एआईजी नारायणबाबु थापाले एक महिनापछि अनिवार्य अवकाश पाउनेछन् । उनको अवकाशसँगै एआईजीको एक पद खारेज समेत हुनेछन् । त्यसपछि मुख्यालयका सबै विभागले एकै एआईजीले हेर्नुपर्ने अवस्था आउनेछ ।
अवकाशको मुखमा रहेका डिआईजीहरु असुलीमा व्यस्त भएको खुलेपछि गृह मन्त्रालयले गत साता विभिन्न बाहिनीपतिहरुको हेरफेर ग¥यो । जसमा सुर्खेतस्थित बाहिनीमा भने एसएसपीलाई जिम्मेवारी दिइएको छ ।
डिआईजीहरु हुँदाहुँदै एसएसपीलाई इन्चार्ज खटाइएकोमा धेरै आश्चर्य मानेका छन् । विवादास्पद पृष्ठभुमी भएका अभि कुमार खत्रीलाई सुर्खेतस्थित बाहिनीको जिम्मा दिइएको छ । खत्री यसअघि प्रहरी मुख्यालयमा भएको शंकास्पद आगलागी घटनामा छानबिनमा तानिएका व्यक्ति हुन् । उनलाई नै गृह मन्त्रालयले बाहिनीपतिको जिम्मेवारी दिएको हो ।