Logo
Logo

वीरबहादुर लामालाई सम्झँदा : एक रातमा पार्टी बन्दैन


- पूर्णशोभा चित्रकार

2.6k
Shares

  • पूर्णशोभा चित्रकार

मकवानपुर जिल्लाका भुपूसांसद वीरबहादुर लामाको यही कात्तिक २३ गते मृत्यु भएको खबर मैले सामाजिक सञ्जालबाट थाहा पाएँ । मानिस जन्मेपछि मृत्यु हुन्छ । यो ध्रुवसत्य हो । तर यो सत्यलाई स्वीकार्न सजिलो भने पक्कै छैन । मन दुख्छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

वीरबहादुर लामाको मृत्यु त्यसबेला भयो, जुन बेला नेपाल कम्युनिष्ट पार्टीमा कुन नेताको योगदान ठूलो भन्नेमा बालुवाटारमा तँछाडमछाड भइरहेको थियो । नेता, नेतामा एक अर्कोलाई होच्याउने, थचार्ने र पछार्ने होड चलिरहेको थियो । नेकपाभित्र चलिरहेको विवाद र तानातानले कम्युनिष्ट पार्टी बनाउन वीरबहादुर लामाजस्ता व्यक्तिहरुको योगदानलाई बिर्सनु पक्कै पनि राम्रो कुरा होइन । वीरबहादुर लामाको बारेमा मैले भन्नुपर्दा राजनीतिक कामको सिलसिलाका उहाँसँगको भेट र केही घटनाहरुको बारेमा सम्झना भइरहेको छ ।

तत्कालीन नेकपा (माले) बनिसकेपछिको भूमिगतकालमा मैले उहाँको जन्मथलो र राजनीतिक कर्मथलो मकवानपुरमा टेक्ने मौका पाएकी थिएँ । त्यतिखेर म अखिल नेपाल महिला संघको महासविच थिएँ । पदीय दायित्वअनुसार वीरबहादुर लामाको कार्यक्षेत्र रहेको मकवानपुर जिल्लाको केही गाउँहरुमा महिलाहरुको बीच प्रशिक्षण र राजनीतिक सांगठनिक प्रतिवेदन संकलनको लागि गएकी थिएँ । त्यो बेलाको केही दृश्यहरु मेरो मानसपटलमा कहिलेकाहीँ आउने गर्दछ ।

वीरबहादुर यो संसारमा नरहे पनि उनको संघर्षपूर्ण जीवन कथाले नेकपा एक रातमा बनेको होइन भन्ने बुभ्mन सजिलो बनाएको छ । नेकपाको जन्म र विकासको लागि अमूल्य योगदान दिने वीरबहादुरजस्तै धेरै नेता, कार्यकर्ता, सहयोगी तथा शुभेच्छुकहरु अहिले पनि गाउँगाउँमा सक्रिय छन् । नेकपाको जग भनेको तिनै श्रमिक, मजदुर, किसान, युवा, विद्यार्थी, महिला र शोषित पीडित जनता हुन् । जसले कम्युनिष्ट पार्टी निर्माण गरे र सिंगो देश र जनतालाई शोषण, उत्पीडन, गरिबीविरुद्ध लड्न सिकाए । त्यसैको प्रतिफल हो, दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । त्यसैले नेकपाका शीर्ष नेताहरुले यसलाई मनन गर्न सकेमा मात्र सही नेतृत्वको लागि अगाडि बढ्न सजिलो पर्दछ ।

त्यतिबेलाको एउटा भेलामा लगभग २५ जना महिलाहरु सहभागी थिए । छलफलको सिलसिलामा त्यो गाउँमा बहुविवाहको चलन चरमरुपमा थियो भन्ने थाहा भयो । महिलाहरुले पाँचाँै, छैटौँ वा आठौँसम्मको श्रीमती भएको जानकारी पनि दिए । मलाई अचम्म लागेर आठौं श्रीमती हुँ भन्ने महिला साथीसँग ‘विवाहपूर्व श्रीमानको सातौँ श्रीमती भइसकेको जानकारी थियो कि थिएन’ भन्ने प्रश्न गरें । उनले ‘थाहा त थियो तैपनि केही सुखको आशामा बिहे गरेकी हुँ’ भन्ने जवाफ दिइन् । कुरा सुनाएको बखत उनको शीर निहुरिएको थियो, अनुहार उदास थियो र उनका आप्mना दुवै हातका औंलाहरुले खुट्टाको बूढीऔँला कोट्याइरहेका थिए । उनी खुशी थिइनन् भन्ने एउटा अनुमान भयो ममा । गाउँगाउँमा कम्युनिष्ट पार्टीको निर्माण यही शोषण, अन्धविश्वास, गरिबी, विकृति, हिंसा हटाउन आवश्यक थियो । संगठन वा पार्टीको माध्यमबाट गाउँले जनतालाई सुख दिलाउन साझा प्रयत्नहरुलाई अघि बढाउन आवश्यक थियो, जुन काम वीरबहादुरले त्यो क्षेत्रमा गरिरहेका थिए ।

अर्को एक गाउँको महिला भेलामा एक डेढ घण्टाको छलफलपछि करिब दश मिनेट जति विश्रामको व्यवस्था हुने गर्दथ्यो । त्यो विश्रामको बीच बैठक कोठा चुरोटको धुँवाले कुहिरोमण्डल बन्दथ्यो । महिलाहरुले पटुकावाट बिँडी, चुरोट, सुर्ती निकाली एकआपसको आगोमा सल्काएर मस्तसित तान्थे र धुँवा निकाल्थे । चुरोट प्रायः कमै सहभागीसँग हुन्थ्यो र जसको हुन्थ्यो त्यसको सान अलि फरक देखिन्थ्यो । प्रायःजसोसँग बिँडी र सुर्ती हुन्थ्यो र सुर्ती सुकेको या हरियो कुनै पनि पातमा बेरेर सल्काउँथे । स्वास्थ्यप्रतिको ध्यान, चेतना केही टाढा रहेको पाएँ मैले त्यस गाउँमा । चुरोट बिँडी नखानेको लागि त्यो कोठा धेरै सकस बन्ने गर्दथ्यो ।

बिहान बेलुकाको खाना प्रायः ढिँडो र मकैको च्याँख्ला खान्थ्यौँ । वीरबहादुरले ‘ढिँडो हेर्नुस है यसरी खानुपर्छ’ भनेर सिकाउनुहुन्थ्यो । कहिलेकाहीँ मलाई मात्रै भात ल्याएर दिनुहुन्थ्यो र आपूmचाहिँ च्याँख्ला वा ढिँडो नै खानु हुन्थ्यो र उहाँ भन्नुहुन्थ्यो– उकालो ओरालो धेरै गर्नुपर्ने ठाउँमा चामलको भातले पेट भरिँदैन ।

एक दिन उनी केही कुरा बिराएको जस्तो गरी हुट्हुटिनुभयो र भन्नुभयो ‘मैले यसपालि तपाईँलाई एक गज्जवको चिज ख्वाउन पाइनँ ।’ खुल्दुली लागेर सोध्दा थाहा भयो त्यो त मयुरको मासु भन्न खोजेका रहेछन् । मेरो शरीर सिरिङ्ग भयो । मैले नखानको लागि सम्झाएको मात्र होइन, आइन्दादेखि वनका चराचुरुंगी, वन्यजन्तु नमार्न आदेश पनि दिएँ । कति बिचित्रको गाउँ थियो त्यो, जहाँ अभाव र गरिबीको कारणले मानवजीवनले प्रकृतिप्रतिको माया बिर्सिसकेको थियोे ।

करिब एक हप्ताको कार्यक्रम सकिसकेपछि म काठमाडौं फर्कनको लागि बाटो लागेँ । वीरबहादुर बस स्टपसम्म पु¥याउन आउनुभयो । बाटोमा हिँड्दा उनले अनेक कुरा गरी हँसाउँथे, अनुभव र जनताहरुले भोगेका समस्याहरु सुनाउँथे । एक ठाउँमा त ‘हो यही ठाउँ हो म र भालुको जम्काभेट भएको’ भन्दै उनी रोके । साँझको समय उनी त्यो बाटोमा हिँडिरहँदा एउटा बडेमाको भालुसँग जम्काभेट भएको थियो रे । उनलाई भालुसँग छल्न सकिन्नँ भन्ने पनि लागेको थियो । तर उनले भए भरको ठूलो आवाज निकाली मूढो भुइँमा बजारेपछि भालु आत्तिएर अर्को बाटो लागेछ ।

वीरबहादुर लामाको जीवन मकवानपुरलगायतका केही जिल्ला र गाउँहरुसित मात्र जोडिएको छैन । उनको जीवन सिंगो कम्युनिष्ट आन्दोलनको इतिहाससित जोडिएको छ । उनले आन्दोलनको कठिन परिस्थितिको धेरैवटा घुम्तीहरु पार गरेका थिए । अहिलेको नेकपाले उनको योगदानलाई नसम्झिनु ठूलो भूल हुनेछ ।

वीरवहादूर लामा मकवानपुर जिल्लाको फाखेलमा एक साधारण परिवारमा जन्मेका थिए । गरिबीको कारण उनलाई उच्च शिक्षा हासिल गर्ने मौका मिलेन । उनको उत्तरकोरियाको दूतावासमा पियनको जागिर थियो । उनलाई वामपन्थी विचारधाराप्रति आस्था थियो । उनीसँग परिचित केही युवाहरुको पहलबाट दुईवटा पर्चा निकाले । त्यसमध्ये एउटा पर्चा राजतन्त्रको विरुद्धमा गणतन्त्र स्थापनाको माग गरी विसं २०३३ सालको वैशाखमा मई १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी निकालिएको । त्यो पर्चा छाप्नको लागि वीरबहादुरले सहयोग गरेका थिए । युवाहरुले पर्चा छर्ने विभिन्न तरिकाहरु निकाले । माधव पौडेलले जैशीदेवलमा डेरा गरी बस्ने डिवी कार्कीको कोठामा सडकमा भेटाएको पर्चा भन्दै एउटा पर्चा छोडेका थिए । पछि अन्चलाधीश कार्यालयको गुप्तचरले हात पारी पर्चा छर्नेहरुको खोजी गर्न थाले । त्यसै क्रममा गोपाल शाक्य, वीरबहादुर लामा, राजेन्द्र पाण्डे, सूर्य लामिछानेलगायत धरै युवाहरु पक्राउ परे । पक्राउ परेकाहरुमध्ये केहीलाई तीन महिनासम्म तत्कालीन डिएसपी कार्यालय हनुमान ढोकामा राखी चरम यातना दिइएको थियो । राजकाज मुद्दा लगाएर बन्दीहरुलाई नख्खु जेल सारेपछि उहाँहरुको भेट झापा आन्दोलनका राजवन्दीहरुसँग भयो । त्यहीँ पार्टी सम्पर्क भयो र कतिपयले पार्टी सदस्यता जेलबाट नै लिए । जेल बसाइको क्रममा जेलबे्रक गरी भाग्ने र पार्टीको काम गर्ने योजना बन्यो । विसं २०३३ साल चैत्र १२ गते नख्खु जेलबाट पर्चाकाण्डका चार जनालगायत १५ जना राजबन्दीहरु भागेका थिए । जसमा वीरबहादुर पनि एक थिए ।

जेलबाट त भागे । तर कसरी सुरक्षित हुने भन्ने समस्या थियो । कामको अनुभवको कमी थियो । त्यो बेला वीरबहादुरको माध्यमबाट उनको गृहजिल्लाको फाखेल गाउँमा सेल्टरको व्यवस्था गरिएको थियो । त्यहीँबाट युवाहरुले भूमिगत गतिविधिका धेरै तौरतरिका सिके । कसरी बैठक बस्ने, कसरी हिँडडुल गर्ने, कसरी पत्राचार गर्नेलगायतका धेरै कुराहरु कामको दौरानमा सिक्दै गए ।

विसं २०४९ सालको जनआन्दोलनपश्चात भएको स्थानीय निर्वाचनमा वीरबहादुर एमालेतर्फबाट जिल्ला सभापतिमा निर्वाचित भए र विसं २०५६ मा सांसद बने । तर विडम्बना भन्नुपर्दछ ०६९ सालमा अशोक राईलगायतका केही साथीहरु नेकपा एमालेबाट अलग हुँदा वीरवहादुर पनि त्यही हावामा बग्नुभयो र त्यसपछि देखि नै उनी छायाँमा पर्नुभयो । त्यसपछिका दिनहरुमा उनले शुरु गरेका व्यावसायिक जीवन पनि सफल हुन नसकेको कुरा साथीहरुबाट बेला बेलामा सुन्नमा आउँथ्यो ।

वीरबहादुर यो संसारमा नरहे पनि उनको संघर्षपूर्ण जीवन कथाले नेकपा एक रातमा बनेको होइन भन्ने बुभ्mन सजिलो बनाएको छ । नेकपाको जन्म र विकासको लागि अमूल्य योगदान दिने वीरबहादुरजस्तै धेरै नेता, कार्यकर्ता, सहयोगी तथा शुभेच्छुकहरु अहिले पनि गाउँगाउँमा सक्रिय छन् । नेकपाको जग भनेको तिनै श्रमिक, मजदुर, किसान, युवा, विद्यार्थी, महिला र शोषित पीडित जनता हुन् । जसले कम्युनिष्ट पार्टी निर्माण गरे र सिंगो देश र जनतालाई शोषण, उत्पीडन, गरिबीविरुद्ध लड्न सिकाए । त्यसैको प्रतिफल हो, दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । त्यसैले नेकपाका शीर्ष नेताहरुले यसलाई मनन गर्न सकेमा मात्र सही नेतृत्वको लागि अगाडि बढ्न सजिलो पर्दछ ।

प्रतिक्रिया दिनुहोस्