Logo
Logo

कमानसिंहको निधनः आर्थिक लेनेदनमा नारायणकाजी मुछिए


- दृष्टि न्युज/संवाददाता

1.5k
Shares

काठमाडौं, २६ मंसिर ।
कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएसँगै उनको आर्थिक कारोबारसम्बन्धि विवाद सार्वजनिक भएको छ । जसमा नेकापका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत मुछिएका छन् । श्रेष्ठले लामामाथि यातना दिएको आरोप लागेको छ ।

पूर्वसांसद एवं पूर्वराजदूत लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।

प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले भनेका छन् ।
निधनअगाडि लामाले फेसबुकमा लेनदेन समस्याबारे लेखेका थिए । तर, प्रवक्ता श्रेष्ठको नाम भने उल्लेख गरेका थिएनन् । लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेखेका थिए । कोरोनाबाट संक्रमण भएपछि लामाले असन्तुष्टि मिश्रित स्टाटस सामाजिक सञ्जालमा राख्दै आएका थिए ।
श्रेष्ठले निर्दाेष बताएपछि नेकपाभित्र यो ठूलो विषय बनिसकेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत श्रेष्ठमाथि अप्रत्यक्ष रुपमा आरोप लगाएका छन् । उनले लेखेका छन्,‘कमरेड कमानसिंह लामा अब हामीबीच रहनुभएन । हार्दिक श्रद्धाञ्जली । तर उहाँले आफु सम्बद्ध कम्युनिष्ट पार्टीलाई अझ यसमा आबद्ध कम्युनिष्ट आदर्श को कुरा गरेर नथाक्नेहरुका लागि चूनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ । ’

 

प्रतिक्रिया दिनुहोस्