Logo
Logo

नेपाल-भारत उर्जा सहकार्यबारे बैठक : अरुण तेस्रो परियोजना कार्यान्वयन अगाडि बढाउने सहमति


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, २७ मंसिर । नेपाल–भारतका उर्जा सचिवहरुको अध्यक्षतामा उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त सञ्चालक समितिको आठौँ बैठक भएको छ । शनिबार भिडियो कन्फरेन्समार्फत आयोजित बैठकमा भारत सरकारका उर्जा सचिव सञ्जिव नन्दन सहायका साथमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेड लगायतका १७ सदस्यीय टोलीको सहभागिता थियो । बैठकमा विभिन्न मन्त्रालय तथा विभागका अधिकारीहरु सम्मिलित नेपाली टोलीको नेतृत्व नेपालका उर्जा सचिव दिनेशकुमार घिमिरेले गरेका थिए ।
नेपाल–भारत संयुक्त संचालक समिति दुई देशका सरकारबीच उर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवं समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो । बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको थियो । दुवै पक्षबीच अन्य विषय लगायत नेपाली उर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारणलाइन विकासबारे छलफल भएको थियो । साथै एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूतरुपमा अघि बढाउने सहमति भएको छ ।
दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेको फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाइएको छ । दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ भने ४०० केभी क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तिय मोडालिटिबारे पनि सहमति भइसकेको छ ।
त्यस्तै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण उल्लेख्यरुपमा अघि बढेको छ । दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्