काठमाडौं, २७ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक नियुक्तिमा आइतबार नियुक्ति नहुने भएको छ । भागबन्डा नमिलेकाले नियुक्ति हुने सम्भावना टरेको हो ।
भागबन्डा नमिलेकै कारण प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान ९ बजे परिषद्को बैठक बोलाएका थिए । विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमै नजाने भएपछि तत्कालै संवैधानिक आयोगमा नियुक्तिको सम्भावना टरेको हो । देउवा बैठकमा नजाने भएपछि आइतबारको परिषद्को बैठकमा गणपूरक संख्या नै नपुग्ने भएको छ ।
कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रम राखेको छ । विरोध प्रदर्शन कार्यक्रमको पूर्वसन्ध्यामा बोलाइएको बैठकमा सहभागी नहुन पार्टीभित्रैबाट दबाब आएपछि देउवाले परिषद्को बैठकमा आफू सहभागी नहुने जानकारी गराएका छन् । देउवा सोमबारको विरोध कार्यक्रमलाई सम्बोधन गर्न हेटौँडा जाँदै छन् ।
सोमबारको विरोध कार्यक्रमका कारण सभापति देउवाले बैठकमा सहभागी नहुने खबर पठाएका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।
संविधानको धारा २८४ अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्मा विपक्षी दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायधीश पदेन सदस्य रहन्छन् । उपसभामुख चयन भइनसकेकाले अहिले परिषद्को सदस्य संख्या पाँच मात्रै हो ।
संवैधानिक परिषद्सम्बन्धी ऐन, ०६६ अनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ ।
ऐनले बैठकमा पेस भएका एजेन्डा सर्वसम्मत रूपमा निर्णय गर्नुपर्ने, अन्यथा पुनः अर्को बैठक बोलाउनुपर्ने र दोस्रोपटकसमेत सर्वसम्मत नभएमा परिषद्का सम्पूर्ण सदस्यमध्ये बहुमतले निर्णय लिन सक्ने उल्लेख छ ।
संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न शुक्रबार पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटघाट भएको थियो ।
पार्टीभित्र विवाद बढेका बेला देउवासँग मिलेर अख्तियार लगायत निकायमा नियुक्तिको तयारी गरेका थिए । तर, देउवा बिच्किएका छन् ।