काठमाडौं, २८ मंसिर ।
कोरम नपुगेपछि आज बस्न लागेको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
ओलीले देउवासँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा नियुक्तिको तयारी गरेका थिए । देउवा नै उपस्थित नभएपछि ओलीलाई धक्का लागेको छ ।
परिषद्मा सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र प्रधानन्यायाधीश सदस्य छन् । उपसभामुख पनि सदस्य हुने भएपनि हाल सो पद रिक्त छन् । देउवा उपस्थित भएको अवस्थामा ओलीले बहुमतका आधारमा नियुक्ति गर्न सक्ने थिए ।