काठमाडौं, ३० मंसिर । कोरोना महामारी सुरु भएको एक वर्षपछि विश्वमा यसको नियन्त्रणका लागि केही सुखद समाचारहरु देखिएका छन् । यस रोगविरुद्धका भ्याक्सिन तयार भएको छ । बेलायात र अमेरिकामा भ्याक्सिनको प्रयोग समेत सुरु भइसकेको छ ।
कोभिड–१९ विरुद्धको खोप सुरु भएसँगै यससम्बन्धि अपराध समेत बढ्न सक्ने आँकलन गरिएको छ । खोपको नाममा ठगी हुन सक्ने भन्दै प्रहरीले निगरानी पनि सुरु भएको छ । नेपाल प्रहरीले भ्याक्सिनको बिक्रिको नाममा हुनसक्ने ठगीविरुद्ध निगरानी सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले आफ्ना सबै सदस्य राष्ट्रलाई यसबारे सचेत गराइसकेको छ । इन्टरपोलले खासगरी अनलाइनमार्फत यस्ता ठगी हुनसक्ने भन्दै सतर्क रहन भनेको छ । इन्टरपोलले यसबारे ‘अरेन्ट नोटिस’ जारी गरेको छ ।
बेलायतमा गत सातादेखि सर्वसाधरणलाई कोभिड–१९ को खोप लगाउन थालिएको छ । अमेरिकामा पनि सोमबारदेखि आपतकालिन अवस्थामा खोप लगाउन अनुमति दिएको छ । अन्य देशले पनि यसको तयारी थालेका छन् । सुरुवाती चरणमा खोपको अत्याधिक माग हुन सक्ने हुँदा अवैध कारोबार रोक्न र त्यसको नाममा ठगी हुनसक्ने भन्दै इन्टरपोलले समेत यससम्बन्धि अपराध बढ्न सक्ने जनाएको छ । आफ्ना एक सय ९४ वटै सदस्य देशमा इन्टरपोलले गत साता यससम्बन्धि परिपत्र गरेको छ ।
इन्टरपोलसँगको सहकार्यमा नेपाल प्रहरीले यसमा अनुसन्धान थालेको हो । खासगरी इन्टरनेटमार्फत हुन सक्ने ठगीमा निगरानी बढाएको छ । प्रहरीको साइबर ब्यूरोका एसपी पशुपति राय भन्छन्, ‘इन्टरनेटको माध्यमबाट भ्याक्सिनको नाममा हुनसक्ने ठगीप्रति हामी सचेत छौं, यस्ता गतिविधिमा निगरानी भइरहेको छ ।’ सामाजिक सञ्जालमार्फत समेत सहज रुपमा भ्याक्सिन दिलाउने भनेर विज्ञापन गरेर ठगी हुन सक्ने भएकाले यसमा सचेत हुनुपर्ने उनको भनाई छ । नक्कली भ्याक्सिनको कारोबार समेत हुनसक्ने विश्लेषण प्रहरीको छ ।
इन्टरपोलले भ्याक्सिनको ओसारपसारको क्रममा समेत चोरी÷डकैती हुनसक्नेतर्फ पनि सतर्क गराएको छ । इन्टरपोलको साइबर यूनिटले गरेको अनुसन्धानमा तीन हजार भन्दा धेरै वेभसाइटमार्फत कोभिड–१९ सम्बन्धि औषधी तथा उपकरणको अवैध कारोबार भएको जनाएको छ । भ्याक्सिन निर्माण गर्ने कम्पनीहरुमा समेत साइबर आक्रमणका प्रयास भएका छन् ।
नेपालमा कहिले आउँछ खोप ?
नेपालमा भने खोप आउन अझै कम्तीमा दुई महिना लाग्ने देखिन्छ । स्वास्थ्य मन्त्रालयले छिटो खोप ल्याउन तयारी भइरहरेको जनाएको छ । छिटो हुँदा पनि कम्तीमा फागुनमा मात्र खोप आउने स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।
खोप निर्माणमा लागिपरेका देश र कम्पनीहरूले सन् २०२० अन्त्यसम्ममा खोप उपलब्ध हुने दाबी गर्दै आएका छन् । संसारभर खोप पु¥याउने दायित्व रहेको डब्लुएचओले भने सन् २०२१ को मध्यभन्दा अगाडि खोप सर्वसुलभ हुने सम्भावना कमजोर देखिएको बताउँदै आएको छ । सन् २०२१ को मध्य अर्थात् जुन, जुलाईदेखि भने संसारभर खोप सर्वसुलभ हुने डब्लुएचओको भनाइ छ । त्यसकारण नेपालमा सर्वसाधारणसम्म खोप पुग्न बैशाख लाग्ने देखिन्छ ।
युरोपमा धेरै चर्चा कमाएको फाइजर र बायोन्टेकले निर्माण गरेको खोपले ९० प्रतिशत मानिसलाई कोभिड–१९ हुनबाट बचाउने दाबी ती कम्पनीको छ । र, सन् २०२० को अन्त्यसम्ममा पाँच करोड डोज खोप उपलब्ध गराउने बताएका छन् । जब कि, उक्त खोप प्रयोग गर्न अनुमति दिएको बेलायतकै जनसंख्या करिब ६ करोड ७८ लाख छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज खोप उत्पादन गर्ने दुवै कम्पनीको लक्ष्य छ । त्यो पनि युरोपको करिब ७४ करोड ७८ लाख जनसंख्यामा दिइसकेर मात्र अन्य विश्वले प्राप्त गर्न सक्ने आकलन गर्न सकिन्छ ।
यस्तै, बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप उत्पादन र वितरण जिम्मा पाएको ब्रिटिस–स्विडिस बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेका पनि ठूलो परिमाणमा खोप उत्पादनको तयारीमा छ । अक्सफोर्डको खोप सफल देखिएमा बेलायतका लागि १० करोड डोज र विश्वभरलाई दुई अर्ब डोज उत्पादन गर्ने बताउँदै आएको छ । अरू दर्जनौँ कम्पनीले पनि खोप उत्पादन र वितरण सम्झौता गरेका छन् । तर, त्यसका लागि त पहिले उनीहरूले सम्झौता गरेको खोप सफल देखिनु अनिवार्य छ ।
पहिलो चरणमा खोप प्रयोग पाउनेहरुमा स्वास्थ्यकर्मीलगायत कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएकाहरू हुनेछन् । उनीहरूको जीवन बचाउनु पनि महत्वपूर्ण उपलब्धि हुनेछ । तर, जबसम्म खोप सर्वसाधारणको पहुँचमा पुग्दैन, कोरोना प्रसार रोकिनेछैन । मानिस संक्रमित भइरहनेछन् र ज्यान गुमाउने क्रम जारी रहनेछ । खोपको सीमित उत्पादन र ढुवानीको जटिलताले जनजीवन सामान्य अवस्थामा फर्किन समय लाग्ने वैज्ञानिकहरूको भनाइ छ ।
त्यसमाथि खोप कहिल्यै शतप्रतिशत प्रभावकारी हुँदैन । दादुराविरुद्धको खोप अहिलेसम्म पत्ता लागेकोमध्ये सबैभन्दा प्रभावकारी मानिन्छ, जसले ९५ देखि ९८ प्रतिशतसम्म मान्छेलाई बचाउन सक्छ । कोभिड–१९ विरुद्ध फाइजर÷बायोन्टेक र मोडर्नाले बनाएका खोपको प्रभावकारिता ९० प्रतिशतसम्म मात्र देखिएको छ ।हालसम्मको नतिजाअनुसार आपतकालीन प्रयोगमा रहेका खोपहरूले पनि १० मध्ये नौजनालाई बचाउनेछन्, एकजनालाई बचाउन सक्ने छैनन् । त्यसैले ठूलो संख्यामा प्रयोग नगरिँदासम्म र त्यसको नतिजा प्राप्त नहुँदासम्म खोपको प्रभावकारिताबारे पूर्ण मूल्यांकन गर्न मुस्किल छ । सर्वसाधरणमा खोप पुग्न अझै केही महिना लाग्ने भएकाले सतर्कता अपनाउनु जरुरी छ । नेपालमा भ्याक्सिन आउन ढिला हुने भएकाले यो बीचमा भ्याक्सिनको नाममा अवैध कारोबार हुने जोखिम देखिएको छ ।