- एमपी सुब्बा
कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिएको वर्ष दिन पुग्यो । अझै संक्रमणबाट विश्व समुदाय आक्रान्त छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक संक्रमित भेटिएको थियो । तीन महिना नबित्दै कोरोना संक्रमण विश्व महामारीको रुपमा फैलियो । हालसम्म विश्वमा कोरोनाले १६ लाख १८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा ७ करोड २६ लाख ४० हजारभन्दा बढी संक्रमित भएका छन् । तर, महामारी कसरी नियन्त्रण गर्ने भन्ने अझैपनि विश्व समुदाय अन्योलमै छ ।
कोरोना संक्रमबारे ज्ञान र सचेतना दिने प्रयासहरु भइरहेका छन् । तर, सार्थक हुन नसक्दा संक्रमणको दर बढ्याबढ्यै छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), जोन्स हप्किन्स विश्वविद्यालयजस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पु¥याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गर्दै आएको छ । ती संस्थाको विवरणअनुसार अहिले पनि विश्वमा दैनिक हजारौँले ज्यान गुमाइरहेका छन् । तिव्ररुपमा फैलिएको कोरोना संक्रमणले विश्व अर्थतन्त्रसमेत चौपट पारेको छ ।
महामारी फैलिएको वर्ष दिन वित्नै लाग्दासमेत संक्रमण नियन्त्रण प्रभावकारी हुन नसक्दा एकातिर चिन्ता थपिएको छ भने अर्कोतिर खोप भित्राउन विभिन्न देशहरु तल्लिन छन् । क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले चर्चामा आएको प्रभावकारी मानिएको ‘फाइजर’ खोप भित्राउने घोषणा गरिसकेका छन् । मेक्सिकोले यही डिसेम्बर अन्तिम साताबाट खोप लगाउन सुरु गरिने घोषणा गरेको छ ।
कोरोना संक्रमण फैलिएको तीन महिनापछि डब्लूएचओले ‘विश्व महामारी’ घोषणा ग¥यो । महामारी नियन्त्रणका लागि उपायहरु समेत जारी ग¥यो । साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र भेटघाट गर्दा कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम राख्न डब्लूएचओले विश्व समुदायलाई सिफारिस गरेको छ । अर्कोतर्फ भिडभाड रोक्न कैयौँ देशका सरकारले कठोर ‘लकडाउन’ गरे । अझैपनि कतिपय देशमा लकडाउन छ । तर, लकडाउन र सामाजिक दूरीजस्ता उपायले मात्र कोरोना परास्त नहुने वैज्ञानिकहरुले बताइसकेका छन् ।
वुहानमा पहिलोपटक कोरोना संक्रमित फेला पर्दा विश्व खाशै गम्भीर बनेन, थिएन । मानौँ, यो साधारण मानव–मानवबीच सर्ने सरुवा रोग हो । त्यसैले तुरुन्त कोरोनाविरुद्धको प्रभावकारी उपचार खोजिएन । तर, जब अमेरिका, युरोपलगायत एसियाली मुलुकमा संक्रमणले तिव्रता पाएसँगै दैनिक हजारौँको ज्यान जान थाल्यो, तब विश्वभरका वैज्ञानिकहरु कोरोनाभाइरसको औषधिको खोज तथा अनुसन्धानमा लागे । उनीहरु नौ महिनायता औषधि, खोप र थेरापीको खोज र अनुसन्धानमा तल्लिन छन् । ती प्रयत्नहरुमा हालसम्म शरीरमा कोरोनाभाइरसँग लड्न सक्ने एन्टीबडी अर्थात् रोगप्रतिरोधात्मक क्षमता निर्माणमा केन्द्रित छ । हाइड्रोक्सीक्लोरोक्वीन, रेमडेसिभर, एजिथ्रोमाइसिनजस्ता औषधिको प्रयोग एकातिर गरिएको छ भने प्लाज्मा थेरापीसमेत उपयोगमा ल्याइएको छ । तर यी दुवै विधि पूर्णरुपमा सफल नभएको डब्लूएचओले बताउँदै आएको छ । खोज तथा अनुसन्धानकै क्रममा विश्वका ठूल्ठूला औषधि निर्माता कम्पनी, विश्वविद्यालय र अनुसन्धान संस्थाहरु खोप विकासमा लागेका छन् ।
अमेरिकी कम्पनी मोडर्ना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक–भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारत सिरोम फर्मास्यूटिकल्स खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् । फाइजर र मोडर्नाका खोपहरु ९५ प्रतिशतसम्म असरदार दाबी गरिएको छ । सुरुमै आफ्नो खोप सफल रहेको दाबी रुसले गरेको छ । तर, उसको ‘स्पुतनिकका’बारे विश्व समुदाय अझै आश्वस्त छैन । अमेरिका, बेलायत र चीनजस्ता मुलुकले रुसले विकास गरेको खोपको अझै विस्तृत अनुसन्धान हुनुपर्ने बताउँदै आएका छन् ।
हालसम्म अमेरिका र जर्मनले संयुक्तरुपमा विकास गरेको फाइजर खोप बढी चर्चामा छ । यो खोपलाई बेलायतको औषधि प्रशासन निकायले मान्यता दिइसकेको छ । पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई यो खोप दिन थालिएको छ । फाइजर खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो । यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले ‘आपतकालीन’ प्रयोगका लागि अनुमति दिएको छ । चाँडै आमरुपमा अनुमति दिने विश्वास गरिएको छ ।
अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै दैनिक संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढेकाले खोपको अपरिहार्यता बढेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख तीन हजार बढीले ज्यान गुमाइसकेका छन् । विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड ६३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । अमेरिकापछि ब्राजिल, भारत, मेक्सिको र युरोपेली मुलुकहरुमा समेत कहालीलाग्दो अवस्था छ, जहाँ दैनिक हजारौँ संक्रमित थपिरहेका छन् भने मृत्यु दरसमेत खाशै कम भएको छैन ।
महामारी फैलिएको वर्ष दिन वित्नै लाग्दासमेत संक्रमण नियन्त्रण प्रभावकारी हुन नसक्दा एकातिर चिन्ता थपिएको छ भने अर्कोतिर खोप भित्राउन विभिन्न देशहरु तल्लिन छन् । क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले चर्चामा आएको प्रभावकारी मानिएको ‘फाइजर’ खोप भित्राउने घोषणा गरिसकेका छन् । मेक्सिकोले यही डिसेम्बर अन्तिम साताबाट खोप लगाउन सुरु गरिने घोषणा गरेको छ ।
मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप ३ करोड ५० लाख डोज खरिद गरिसकेको जनाएको छ । युरोपेली युनियनको औषधि प्रशासन निकायले पनि फाइजरसहित अन्य खोपका बारेमा विमर्श गरिरहेको छ । बिबिसीका अनुसार भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम क्लिनिकल परीक्षण भइरहेको छ । सरकारको अनुमति पाएलगत्तै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताएका छन् ।
चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युनाइटेड अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । युएईमा सिनोभ्याकको क्लिनिकल परीक्षण गत जुलाईबाट गरिएको थियो । उक्त खोप ८६ प्रतिशत असरदार देखिएको युएईको भनाइ छ । यस्तै टर्की, ब्राजिल र चिलीमा चिनियाँ खोप पठाइसकिएको छ ।
चीनमा हाल चार वटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको चीनले जनाएको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले सिएनएनसँग भनेका छन्, ‘दर्जनौँ मुलुकहरुले सिनोफार्मका खोप खरिद गर्न अनुरोध गरिरहेका छन् । सन् २०२१ को अन्त्यसम्म एक अर्ब डोज उत्पादन गर्ने क्षमता कम्पनीसँग छ ।’
कोरोना संक्रमणसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोपहरु विश्वभरका मुलुकमा सहज र समानुपातिकरुपमा वितरण हुनुपर्ने जिकिर विश्वका स्वास्थ्य अभियन्ताहरुले जोड दिइरहेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेअनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रति डोज ४ डलर, मोडर्नाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोपहरु २ डोज लगाउनुपर्ने डब्लूएचओले जनाएको छ ।
डब्लूएचओकै अगुवाईमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना भएको छ, जसले कोरोनाविरुद्धको खोपलाई विश्वका धनी र गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन मद्दत गर्नेछ । तर, विश्वका अति गरिब र कोरोना संक्रमणका कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकले ती महँगा खोपमा कहिले र कसरी सहजरुपमा हासिल गर्लान् भन्ने अझै बताउन सकिने अवस्था छैन । नेपाल सरकारले पनि जति चाँडो कोरोना खोप भित्राउने पहल भइरहेको जनाएको छ ।
नेपालमा कूल जनसंख्याको २० प्रतिशतलाई पुग्नेगरी खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठनको ‘कोभ्याक्स सुविधा’अन्तर्गत अमेरिकी र जर्मन कम्पनीले विकास गरेको खोप सबैभन्दा पहिले आउन सक्ने सम्भावना छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोभ्याक्सअन्तर्गत सहजरूपमा खोप उपलब्ध भएपनि सबै जनसंख्यालाई पुग्नेगरी माइनस ८० डिग्रीमा भन्दा तलको तापक्रममा राख्ने खोपको व्यवस्थापन गर्न नेपालमा सहज छैन । तर, अग्रमोर्चामा काम गर्ने तीन प्रतिशतका लागि केही अस्पतालमा भएका भण्डारण गर्न सकिने उनको भनाइ छ ।
कोभ्याक्सअन्तर्गत आउने भनिएको करिब २० प्रतिशत खोपले नेपालको ६० लाख जनसंख्यालाई पुग्ने बताइएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप निकै कम तापक्रममा राख्नुपर्ने डब्लूएचओले जनाएको छ । तर, त्यस्तो सुविधा विकसित मुलुकमा समेत सीमित मात्रामा रहेकाले नेपालमा खोप भण्डारमै समस्या देखिन्छ । नेपालमा खोप ल्याउन, भण्डारण गर्न र खोप लगाउने व्यक्तिको पहिचानलगायतका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत आठ वटा समिति गठन गरिएको छ । तर, नेपालमा खोप कहिलेसम्ममा भित्रिन्छ भन्ने यकिन छैन ।