- श्याम रिमाल
“मैले सगरमाथाको उचाइ बढेकै हुनुपर्छ भनेको थिएँ । यो गौरवको कुरा हो, हाम्रो सम्पत्ति सगरमाथा हामी नेपालीले नै मापनको सम्पूर्ण कार्य ग¥यौँ र अब शुद्ध उचाइको पनि घोषणा भयो । यो सम्पूर्ण नेपालीको पहिचानको कुरा पनि हो” (बुद्धिनारायण श्रेष्ठ, बोर्डर नेपाल बुद्धिनारायण श्रेष्ठ फेसबुकबाट)
त्यो जहाँ छ त्यहीँ छ । भुइँचालाले कति गगनचुम्बी घरहरु ढले, तर सगरमाथा झन् पो उचाइ बढाएर हाम्रो सुरक्षाकवच भएर बसिरहेको छ । म्यालोरीले भनेझैँ किनकि, त्यो त्यहाँ छ सबैलाई चुनौती दिएर । त्यतिबेला कसैले पाइला नटेकेको त्यो चुनौतीसँग सङ्घर्ष गर्नु उनका लागि प्रथम विश्वयुद्धपछिको चाहना थियो ।
विकज इट्स देयर(किनकि त्यो त्यहाँ छ) –बेलायतका पर्वतारोही जर्ज म्यालोरीले २४–२५ वर्षका उमेरमा सन् १९२० दशकको शुरुतिर नै बेलायती आरोहण दलबाट तीन पटक सगरमाथा चढ्ने कोशिश गरिसकेका थिए । सन् १९२१ मा ब्रिटिश माउण्ट रिकनेसाँ एक्शपिडिशनमा भाग लिएका उनको दलले सन् १९२२ मा पर्याप्त अक्सिजनविना आठ हजार २२५ मिटरसम्म पुग्ने मौका पाएको थियो । सन् १९२४ को पर्वतारोहणका क्रममा उनी र उनका साथी एन्ड्रयु स्यान्डी इरभान सगरमाथा शृङ्खलाको उत्तरपूर्वमा हराएका थिए । उनीहरुको स्थितिबारे ७५ वर्षसम्म अज्ञात रह्यो । खोजीका क्रममा सन् १९९९ मे १ मा उनीहरुको शव शिखरबाट २४५ मिटर तल भेटिए । उनीहरुले सगरमाथा चढे कि चढेनन् भन्ने कुरा अहिले पनि रहस्यमय नै छ । तिनै म्यालोरीलाई एक पटक अमेरिकी पत्रकारले सन् १९२३ मा सोधेका थिए, “तपाईँ किन सगरमाथा चढ्न चाहनुहुन्छ ?” उनले जवाफ दिएका थिए, किनकि त्यो त्यहाँ छ । यही तीन अङ्ग्रेजी शब्दले पश्चिमा संस्कृतिमा नै हलचल ल्याइदियो, जुन पर्वतारोहणको इतिहासमा नै उत्कृष्ट वाणी बनिदियो । नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा चढ्नुअघि नै म्यालोरीले त्यसको प्रयास गरिसकेका थिए । त्यसयता शिखरमा हालसम्म करीब आठ हजारले टेके भने तीन सयभन्दा बढीले आरोहणका क्रममा ज्यान गुमाए । तैपनि सगरमाथा अटल, स्थिर, उँचा र गौरवका साथ उभिरहेछ । त्यो जहाँ छ त्यहीँ छ । भुइँचालाले कति गगनचुम्बी घरहरु ढले, तर सगरमाथा झन् पो उचाइ बढाएर हाम्रो सुरक्षाकवच भएर बसिरहेको छ । म्यालोरीले भनेझैँ किनकि, त्यो त्यहाँ छ सबैलाई चुनौती दिएर । त्यतिबेला कसैले पाइला नटेकेको त्यो चुनौतीसँग सङ्घर्ष गर्नु उनका लागि प्रथम विश्वयुद्धपछिको चाहना थियो । सगरमाथा चढ्नुको गौरव यति ठूलो छ कि केही वर्षअघि भारतको एक दम्पतीले यसलाई जितेको भनी नक्कली तस्वीर राखेर सरकारी निकायहरुलाई झुक्याउन पनि पछि परेन, पछि तिनलाइ सजायँ पनि दिइयो ।
नेपाली साहित्य र अन्य दस्तावेज गरेर सबभन्दा बढी शायद सगरमाथाकै नाम बढी अभिव्यक्त भएको छ । उत्तर दक्षिण पानी ढलोको रुपमा रहेको यसको शिखर भाग नेपालमै पर्नु र सिमानामा रहेको चीनले त्यसलाई मानिदिनु नेपाल र नेपालीका लागि सौभाग्यकै कुरा मान्नुपर्छ । उत्तरी छिमेकी चीनसँग नेपालको सो समस्या राजा महेन्द्र र बिपी कोइरालाका पालामा विसं २०१८ मा शान्तिपूर्ण रुपमा सल्टिएको थियो । चिनियाँ राष्ट्राध्यक्ष माओत्से तुङले देखाएको उदारताप्रति हामी कृतज्ञ हुनैपर्छ । हाल चीनसँग नेपालको कुनै समस्या छैन । जबकि, दक्षिणको छिमेकीसँग सीमा, व्यापार, जलस्रोत आदिबारेमा सधैँ कचकच भइरहेको छ । नेपालको कालापानी क्षेत्रलाई कालीनदीबाट पश्चिमतिर पारी ३७० वर्गकिमी भूमि ५८ वर्षदेखि लिएको छ, ७८ ठाउँमा दशगजामा अतिक्रमण भएको छ । ७१ स्थानमा ६०६ वर्गकिमी भूभाग अतिक्रमण, तेरोमेरो, वादविवाद र सीमापार जोतकमेद दखलमा परेको छ (बुद्धिनारायण श्रेष्ठ, बोर्डर नेपाल फेसबुक) । दक्षिण मोहडा नेपालका तर्फबाट सगरमाथा चढ्ने पनि बढी नै छन् र यसले नेपालको गौरव एवं स्वाभिमान त राखेकै छ । आरोहणबाट प्राप्त सलामी र पर्यटन उद्योगबाट प्राप्त आम्दानीले कुल गार्हस्थ उत्पादनमा सहयोग गरेकै छ ।
सगरमाथा र गौतम बुद्ध हाम्रा विशाल पूँजी हुन् । तर तिनलाई नेपालले भजाउन नै सकेको छैन । बुद्धलाई अझै निकट र पश्चिमा राष्ट्रहरु भारतमा जन्मेको भनेर पढिरहेछन् । विश्वको चुचुरामा वा त्यसको छेउछाउमा जिन्दगीको एक पल्ट भए पनि सबै नेपालीलाई पुग्न प्रेरित गर्नुपर्ने हो । यसले विश्वका मानिसहरुलाई पनि प्रेरणा र प्रचार पुग्छ । सगरमाथा आधार शिविर कालापत्थर( पाँच हजार ५५० मि)सम्म दुई पटक यात्रा गरेका पत्रकार विराट अनुपम नाम्चेबाट उकालो लाग्नेबित्तिकै भ्रमणशुल्कवापत बाह्य पर्यटकसँग रु ३०० डलर लिनुपर्ने सुझाव दिन्छन् । भुटानले पनि उसको भूमिमा टेक्नेबित्तिकै पर्यटनशुल्कवापत २५० डलर लिने गरेको उनको भनाइ छ । यसलाई पाँचतारे गन्तव्य बनाउनुपर्ने सुझाव पनि उनी दिन्छन् । त्यहाँ मानिसहरुले ढुङ्गा बोक्ने गरेको, जथाभावी शौच गर्ने गरेको जनाउँदै उनी सिसी क्यामेरासहित सुरक्षा जाँच पनि हुनुपर्ने बताउँछन् । सगरमाथाबारे विश्वका मुख्य करीब १० भाषामा बेवसाइटमार्फत प्रचारप्रसार गरिनुपर्ने सुझाव पनि उनी दिन्छन् जहाँ सगरमाथाबारेका सबै मिथक, घटना तथा पत्रकार र लेखकका समाचार, लेख आदि सबै अटाऊन् । सगरमाथालाई अझ बढी मूल्य दिन र यसबाट नेपालको कीर्ति बढाउन हरेक वर्ष भारत, चीन मित्र राष्ट्रका साथै सार्क, बिम्स्टेकलगायत सबै महादेशका विशिष्ट व्यक्तिहरुसँग मिलेर नेपालले संयुक्त पर्वतारोहण अभियान पनि चलाउन सक्छ । हालसम्म सगरमाथा चढेका विभिन्न देशका सफल आरोहीहरुलाई नेपालको सद्भावना दूत बनाउन सक्छ र तिनको व्यक्तित्व प्रकाशन पनि गर्न सक्छ । हरेक वर्ष नेपालले चलाउने भनिएको ‘सगरमाथा संवाद’ पनि त्यसको एक भाग हो जसले तेस्रो ध्रुवको खोजीमा लाग्न, आधार शिविरतिर पदयात्रा गर्न र आरोहण गर्न विश्वलाई आकर्षित गर्न सक्छ ।
केही वर्षअघि सगरमाथामा थुप्रिएको फोहर र प्रदूषणले गर्दा यसलाई आराम दिनुपर्ने आवाज पनि उठेको थियो । यसलाई सधैँ स्वच्छ, सफा एवं प्रदूषणरहित बनाई वर्षेनी सगरमाथा अभियान नै चलाउनुपर्छ । सगरमाथा विजेताहरुलाई वर्षेनी नेपालमा निम्तो गरी प्रचारप्रसार गर्न सके यसको गरिमा र महत्व अझ बढ्ने विश्वास गर्न सकिन्छ ।